राजनीति

मिश्रले देउवालाई भनेः अरूलाई खाने बाघले एकदिन कसैलाई पनि खान सक्छ, होस गरौं

१० बैसाख, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग फोनमा कुरा गरेको बताएका छन् । संयोजक मिश्रले दुईवटा कुरामा जोड दिएको बताएका छन् । मिश्रले जोड दिएको पहिलो प्रस्ताव सरकारले ल्याएका घातक अध्यादेशका विरूद्ध एक जुट हुन संसदभित्रका मात्र होइन संसद बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिन रहेको छ भने दोस्रो सुरक्षा प्रोटोकलको व्यवस्था गरेर तुरून्तै संघीय संसदको बैठकका लागि आवाज उठाउन रहेको छ ।

संयोजक मिश्रसँगको कुराकानीमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका काँग्रेस सभापति देउवाले पार्टीभित्र सल्लाह गरेर आवश्यक निर्णय लिने उत्तर दिएको उनले बताएका छन् । संयोजक मिश्रले सुरक्षा प्रोटोकल कायम गरेर मन्त्री परिषदको बैठक हुन सक्छ भने राष्ट्रिय संकटका बेला संघीय संसद बस्न नसक्ने अवस्था छैन भन्ने तर्क समेत गरेका छन् ।

संयोजक मिश्रसँग के कुराकानी भयो उनकै शब्दमा

शेरबहादुर देउवालाई फोनमा मेरो आग्रह

साझा पार्टीले आज (बुधवार) विहान सरकारले ल्याएका अध्यादेशका विरूद्ध डिजिटल अभियान चलाउन, संसदभित्र र बाहिर रहेका दलको संयुक्त मोर्चा निर्माण गर्न र संघीय संसदको बैठक बोलाउन सार्वजनिक आह्वान गरेपश्चात् त्यसैबारे छलफल गर्न मैले प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको थिएँ।

मैले उहाँलाई साझा पार्टीले केही समयअघि सुझाएजस्तो “प्रधानमन्त्रीको नेतृत्वमा तपाईं समेत सामेल भएर उच्चस्तरीय संयन्त्र निर्माण गरेको भए संभवतः अहिले यो स्थिति नआउन सक्थ्यो। अबको परिस्थितिमा चाहिँ यहाँलाई म मूलरूपमा दुईवटा विषयमा जोड दिन चाहन्छु” भनेँ।

“पहिलो, सरकारले ल्याएका घातक अध्यादेशका विरूद्ध एक जुट हुन संसदभित्रका मात्र होइन संसद बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिनोस्। त्यसबाट अलि व्यापकस्तरको दबाब सृजना गरौँ। अन्यथा, अरूलाई खाने बाघले एकदिन कसैलाई पनि खान सक्छ।

“दोस्रो, सुरक्षा प्रोटोकलको व्यवस्था गरेर तुरून्तै संघीय संसदको बैठकका लागि आवाज उठाउनोस्। सुरक्षा प्रोटोकल कायम गरेर मन्त्री परिषदको बैठक हुन सक्छ भने राष्ट्रिय संकटका बेला संघीय संसद बस्न नसक्ने अवस्था छैन।”

प्रतिउत्तरमा देउवाले “संसदबाहिरका दललाई पनि सामेल गराउने कुरा म साथीहरूसँग सल्लाह गर्छु” भन्नुभयो भने संसदको अधिवेशनको हकमा आफूलाई अलिकति सुरक्षा चिन्ता भएको बताउनु भयो। तर त्यसबारे पनि साथीहरूसँग छलफल गर्ने उल्लेख गर्नुभयो।

बर्तमान परिस्थितिमा ती दुबै काम गर्नु राम्रो हुने मेरो निश्कर्ष रहेको मैले उल्लेख गरेँ।