एजेन्सी । ईटलीमा कोरोनाका कारण प्रभावित भएको सिरी ए फुटबलका खेलहरु पुनः सुचारु गरिने भएको छ । कोरोनाको कारण नराम्रोसंग प्रभावित भएको ईटलीमा कोरोना आतंक कम नहुँदै खेलकुद गतिविधि सुरु गरिँदै छ ।
जसका लागि पहिलो चरणमा आगामी मे ४ देखि टिमहरु व्यक्तिगत प्रशिक्षणमा सहभागी हुने भएका छन् । इटालीमा लकडाउन खुकुलो पार्ने प्रकृया सुरु भएसँगै मे ४ देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुन पाउने भएका हुन् । यस्तै मे १८ देखि टिम प्रशिक्षण गर्न पाइने भएको छ ।
रोकिएका सिरी ए का खेलहरु मे २७ देखि जुन २ को बीचमा शुरु हुने आशा गरिएको छ । यो सिजन अगस्टको सुरुवातमा अन्त्य गर्ने तयारी रहेको छ । तर सिरी ए फुटबलका खेल बन्द रंगशालमै पनि कहिलेदेखि सुरु हुनेछ भन्ने औपचारिक घोषणा भने अझै गरिएको छैन ।
इटालीमा आइतबार कोरोना भाइरसका कारण २६० जनाको ज्यान गयो । यो मार्च १४ यताकै सबैभन्दा कम हो । इटलीमा अहिलेसम्म कोरोनाका कारण २६ हजार ६ सय ४४ ले ज्यान गुमाएका छन् भने १ लाख ९७ हजार ६ सय मानिस कोरोना संक्रमणका कारण प्रभावित भएका छन् ।





