खेलकुद

फिफाले एन्फालाई ६ करोड वढी रकम दिने

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५ लाख अमेरिकी डलर ९६ करोड १० लाख रुपैयाँ दिने भएको छ । फिफाले २०१९ र २०२० को बाँकी रहेको परिचालन कोषअन्तर्गतको रकम उपलब्ध गराउने भएको हो ।

कोरोनाभाइरसले संसारभर असर गरेको अवस्थामा फिफाले आफ्ना सदस्य राष्ट्रका लागि पहिलो चरणको राहत योजनाअनुसार बाँकी रहेको रकम उपलब्ध गराउने भएको हो । उपलब्ध गराउने रकम मध्ये सबै सदस्यले फिफा फरवार्ड कार्यक्रम अन्तर्गतको २०१९ र २०२० किस्ता पाउने भएका हुन् ।

२०२० को किस्ता जुनमा पाउने भए पनि अहिले तत्काल उपलब्ध गराउन लागिएको हो । साधारण स्थितिमा भएमा सबैले रकम पाउनका लागि निश्चित शर्त पूरा गर्नु पर्थ्यो। तर फिफाले शर्त खारेज गरेर राहतको रुपमा रकम दिन लागेको हो । फिफाले आफ्ना २११ सदस्य राष्ट्रको फुटबल संघलाई कूल १५० मिलियन अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको हो।

जसमा प्रत्येक सदस्यले ५ लाख अमेरिकी डलर पाउने फिफाको भनाइ छ । यो पहिलो चरणको राहत भएको बताउँदै अरु राहतको प्याकेज ल्याउने बताईएको छ । फिफा विकास समिति र फिफा आर्थिक समितिलाई तत्काल निर्णय अनुमोदन गरेकोमा धन्यावाद दिइयो ।