साहित्य

गुरु पुर्णिमा

                                           -डा सुरेन्द्र सिटौला                -कविता

आज गुरु पुर्णिामा!
गुरुको ज्ञानले
चौतारीको रुख सँग
सम्वाद गर्न सिकायो
रुखले उसको पाठशालामा
मलाइ झिकायो र भन्यो
जाउ तिमी
अर्को रुख भएर आउ
गर्मी पिएर आफैंं
म जस्तै
शितल बनी रमाउ

गुरु पुर्णिामाको दिन
गुरु मलाइ ढुंगाको शिष्य बनाउथे
ढुंगाको मुर्ति लाई ढोग्न लगाउथे
ढुंगाले कानमा साउती गर्दै भन्थ्यो
आउ तिमी अब म सगै आउ
चट्टान जस्तै कठोर भएर
यात्रीले भारी बिसाउने
चौतारी लाइ सजाउ
देशको सिमाना रुङ्ने
म जस्तै
निष्ठाको चट्टानी पर्खाल भै रमाउ

गुरु पुर्णिामाको दिन
गुरुले मलाइ स्कुल बाहिर कतै हिडाउथे
तल अविरल बगिरहने नदी चिनाउथे
नदीको आत्म कथा पढाउथे
कथा सुनेर म रमाउथे
म रमाएको देखेर
नदी मलाइ फकाउदै भन्थ्यो
आउ तिमी पनि अब मैले जस्तै
अनन्त यात्राको मीठो गीत गाउ
अविरल निष्ठा र परिश्रमको
अन्तहिन आनन्दमा रमाउ

गुरु पुर्णिामाको दिन
गुरु मलाइ
हावा सगै पढ्न पठाउथे
हावाले मलाइ आफू जस्तै
तुफानी वेगमा अघि बढ्न सिकायो
अप्ठ्यारा समस्या विरुद्ध
अनन्त सम्म भिड्न सिकायो

गुरु नै त हुन
मलाइ माटो चिनाउने
माटोको अमृत सबैलाइ पिलाउने
अमृत पान पछि
माटोले मलाइ जिबन चिनायो
गुरुको सामिप्यमा जीवन
औधी रमायो
गुरु जति पोखिदै गए
म उति नै भरिदै गए
पोखिएर कहिल्यै नरित्तिने गुरु भन्छन्
मलाइ भेट्न
गुरु पुर्णिामा कुर्नु पर्दैन
फुलको मालाले
मेरो प्रतिमा सजाउनु पर्दैन
वस !
तिमी गुरु भएको सुन्न पाए
गुरु पुर्णिमाको दिन
गुरुभेटी मलाइ चढाउनु पर्दैन ।