साहित्य

आमा….

-कविता -प्रदीप ढकाल

सूर्य र ग्रहहरुसँग दूरी बनाई
एउटा चक्रमा घुमिरहेको पृथ्वी
पृथ्वीलाई परिक्रमा गरिरहेको चन्द्रमा
यही संयोजनमा ब्रह्माण्डीय उर्जाले
धर्तीमा जीवनतत्व कायम गरिदियो
ब्रह्माण्डको सुरुवातसँगै
जीवनतत्वको माध्यम हुन् – आमा ।
धर्तीमा जहाँ भएपनि जोडिने अस्तित्व
केवल आमासँग मात्रै त हो
देहको अस्तित्व बिलाएर
विश्रामका लागि गएपनि
अनन्त ब्रह्माण्डबाटै
प्रेमको प्रवाह रहिरहन्छन् आमाहरु …
आमासँगको बाहेक
संसारका सारा सम्बन्ध भ्रम हुन्
जीवन चक्रका
अस्थायी बहाना मात्रै हुन् ….
समाजका र संस्कारका
नाता र सम्बन्ध आर्जित हुन्
तर,
आमासँग न त कुनै नाता हुन्छ
न त कुनै सम्बन्ध हुन्छ
आमा त प्रकृति हो …
आमा अस्तित्वमा रहँदा
वा, भौतिक अस्तित्वभन्दा पर
अनन्तमा रहँदा पनि
सन्तानको जीवनसँग जोडिने
एकमात्र अस्तित्व हुन्
धर्तीमा रहँदा होस्
वा ब्रह्माण्डमा रहँदा
आमाको ऊर्जाले नै
धर्तीमा जीवन निश्रृत भइरहन्छ
जीवनमार्गमा डोर्याइरहन्छ….
ब्रह्माण्डका सम्पूर्ण आमा अस्तित्वमा
कोटीकोटी नमन…