१९ असार, काठमाडौं । संवैधानिक परिषद्को शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा परिषद् सदस्य भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष बालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्।
निर्वाचन आयोगमा रिक्त रहेको प्रमुख आयुक्त र आयुक्त नियुक्तिको प्रक्रिया अघि बढाउँदा परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल नगरी एकपक्षीय रूपमा अघि बढाइएको भन्दै आङ्देम्बेले सैद्धान्तिक असहमति व्यक्त गरेका हुन्। उनले संवैधानिक निकायमा नियुक्ति जस्तो संवेदनशील विषयमा परिषद्का सदस्यहरूबीच समयमै संवाद र परामर्श हुनुपर्ने धारणा राखे।
बैठकमा आङ्देम्बेले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै, “प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षको हैसियतमा हाम्रो चिनजान नै भएको छैन। व्यक्तिगत रूपमा भने चिन्छु,” भन्दै परिषद्का सदस्यहरूसँग सामान्य शिष्टाचार र नियमित संवादसमेत नभएको गुनासो गरे। उनले भविष्यमा यस्तो अवस्था दोहोरिन नहुने चेतावनीसमेत दिएका थिए।
जवाफमा प्रधानमन्त्री बालेनले आफूले परिषद्का सदस्यहरूसँग व्यक्तिगत रूपमा संवाद गर्ने प्रयास गरेको दाबी गरेका थिए। तर सञ्चारमाध्यमले त्यसलाई फरक अर्थ लगाउने भएकाले खुला रूपमा छलफल गर्न कठिन भएको उनको भनाइ थियो।
त्यसपछि आङ्देम्बेले प्रमुख प्रतिपक्षी नेता, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षसँग प्रत्यक्ष छलफल गरेर सहमतिको वातावरण बनाउन सकिने सुझाव दिएका थिए। साथै उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच देखिएको संवादहीनता संवैधानिक परिषद्सम्म फैलिन थालेको हो कि भन्ने प्रश्न पनि उठाएका थिए।
संवैधानिक परिषद्को बैठकमा भएको यो संवादले संवैधानिक नियुक्ति प्रक्रिया र सरकार–प्रतिपक्षबीचको समन्वयलाई लिएर नयाँ बहस सुरु गरेको छ।





