ब्रेकिङ न्युज

त्रिविले पायो नयाँ उपकुलपति, जिम्मेवारी डा. भोला थापालाई

१९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा त्रिविका कुलपतिले डा. थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन्। उनी यसअघि काठमाडौं विश्वविद्यालय (केयू) का उपकुलपतिको जिम्मेवारी सम्हालिसकेका अनुभवी शिक्षाविद् हुन्।

डा. थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। सरकारी सेवाबाट व्यावसायिक यात्रा सुरु गरेका उनी पछि काठमाडौं विश्वविद्यालयमा प्राध्यापक बनेका थिए।

केयूमा उनले उपप्राध्यापक, प्राध्यापक, सहायक डिन, कार्यकारी डिन, रजिस्ट्रार हुँदै २०७७ माघमा उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए।

मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका डा. थापाले स्नातकोत्तर तहमा टर्बाइन रनरसम्बन्धी अध्ययन गरेका छन् भने विद्यावारिधि हाइड्रोलिक मेसिनमा बालुवाका कणबाट हुने क्षरण (इरोजन) सम्बन्धी अनुसन्धानमा गरेका छन्।

उनले प्रारम्भिक उच्च शिक्षा अमृत साइन्स क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहमा तथा विद्यालय शिक्षा ल्याबोरेटरी स्कुल, कीर्तिपुरबाट पूरा गरेका हुन्।