ब्रेकिङ न्युज

लागुऔषध तस्करले प्रहरीमाथि गोली चलाएपछि…

१९ असार, सिरहा। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा आज प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ । घटनामा एक भारतीय नागरिक प्रहरीको गोली लागेर घाइते भएका छन् भने अन्य केही कारोबारी फरार भएका छन् ।

लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा पुगेको प्रहरी टोलीले कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेका थिए । उक्त गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ ।

आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो । तीमध्ये एक गोली भारतको बिहार राज्य, मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेको थियो । घाइते कलामलाई नियन्त्रणमा लिएर उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेका अब्दुल कलाम उक्त समूहका मुख्य कारोबारी हुन् ।

उनीहरूले लामो समयदेखि भारतबाट नेपालतर्फ व्यावसायिक रूपमा लागुऔषध तस्करी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले अब्दुलको साथबाट १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरेको छ । घटनामा संलग्न अन्य दुई/तीन जना फरार रहेकाले उनीहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।