समाचार

बोश होमको नयाँ अनुहार बनिन् अस्मी श्रेष्ठ

१९ असार, काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालमा आफ्नो ब्रान्ड प्रवर्द्धनका लागि मोडल, उद्यमी तथा पूर्व मिस नेपाल वर्ल्ड अस्मी श्रेष्ठलाई ब्रान्ड दूत (ब्रान्ड एम्बेसडर) नियुक्त गरेको छ।

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार अस्मीसँगको सहकार्यले उच्च गुणस्तर, आधुनिक प्रविधि, आकर्षक डिजाइन र भरपर्दो कार्यसम्पादनप्रतिको कम्पनीको प्रतिबद्धतालाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

आधुनिक नेपाली घरपरिवारको जीवनशैली र आवश्यकतालाई प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा अस्मीलाई ब्रान्ड दूत बनाइएको कम्पनीले जनाएको छ।

अस्मी श्रेष्ठ सन् २०१६ की मिस नेपाल वर्ल्ड हुन्। उनले सोही वर्ष मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। मोडलिङसँगै उनी आन्तरिक सजावटसम्बन्धी कम्पनी अस्मी श्रेष्ठ इन्टेरियर्स की संस्थापकका रूपमा पनि सक्रिय छिन्।

कम्पनीका अनुसार यस साझेदारीमार्फत नेपालमा बोश होम एप्लायन्सेसको उपस्थितिलाई अझ सुदृढ बनाउँदै उच्चस्तरीय, भरपर्दो र आकर्षक डिजाइन भएका घरेलु विद्युतीय उपकरण खोज्ने उपभोक्तासँग थप नजिकिने लक्ष्य राखिएको छ।

बोश होम एप्लायन्सेस जर्मन प्रविधिमा आधारित विश्वका अग्रणी घरेलु उपकरण ब्रान्डहरूमध्ये एक हो। नेपालमा कम्पनीले अगाडिबाट कपडा हाल्ने धुने मेसिन, रेफ्रिजरेटर, भाँडा धुने मेसिन तथा भान्सामा जडान गरिने आधुनिक उपकरण उपलब्ध गराउँदै आएको छ।

कम्पनीका अनुसार ऊर्जा दक्षता, टिकाउपन र सहज प्रयोगलाई ध्यानमा राखेर उत्पादन गरिएका उपकरणले दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउने उद्देश्य राखेका छन्।

नेपालमा बोश होम एप्लायन्सेसको आधिकारिक वितरक लक्ष्मी इलेक्ट्रोटेक रहेको छ।