२६ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबिरल वर्षासँगै गएको बाढी पहिरोकोे कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री गुरुङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशका कास्की, तनहुँ, लमजुङ र म्याग्दी जिल्लालगायत विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् ।
पहिरोको कारण घाइते, बेपत्ता एवम् घरवारविहीनको तत्काल उद्धार, उपचार र राहतमा जुट्नु हुने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीयवासिन्दाप्रति धन्यवाद प्रकट गर्दै उनले प्रेस वक्तव्यमार्फत प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार गण्डकी प्रदेशमा केही दिन भारी वर्षा हुने र यसका कारण नदीहरुमा पानीको बहाव बढ्न गई सम्भावित जनधनको क्षतिप्रति सावधानी र उच्च सतर्कता अपनाउन समेत अपिल गरेका छन् ।