गण्डकी प्रदेश

पहिरोका कारण मृत्यु भएका मृतकका परिवारलाई तीन लाख सहयोग

२६ असार, लमजुङ । अविरल वर्षाले घरभित्र पहिरो पस्दा मृत्यु भएका बेँसीशहर नगरपालिका­७ सातबिसेका दिपक तामाङको परिवारलाई तीन लाख रुपैयाँ राहतस्वरुप सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले राहतस्वरुप तीन लाख मृतकका परिवारलाई आज सहयोग गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मृतक दिपकको बुबा हर्कबहादुर तामाङलाई रकम हस्तान्तरण गरे । आफ्नो परिवार गुमाउदा ठूलो चोट पुगेपनि सरकारले दिएको राहतले केही सान्त्वना मिलेको मृतकका बुबा हर्कबहादुरको भनाइ छ । मृतक छोरा बुहारी र नातिको काजकीरिया गर्नका लागि केही सहयोग पुग्ने उनको भनाइ छ । अविरल वर्षाले घरमाथिबाट पहिरो पस्दा एउटै परिवारको दिपक तामाङसहित उहाँकी श्रीमती विमाया र छोरा छेवाङ तामाङको पुरिएर मृत्यु भएको थियो ।