सुदूरपश्चिम

हेरचाह गर्ने अभिभावककाे मृत्यु भए पछि तीन बालकको विचल्ली

२७ साउन, डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–६ नारा गाउँका ५५ वर्षीय बाजी खातीको मृत्यु भएसँगै उनका छोरा नौ वर्षीय लक्ष्मण, दुई वर्षीय कृष्ण र चार वर्षीय गणेशको विचल्ली भएको छ ।

घरमा रेखदेख तथा हेरचाह गर्ने अभिभावक नभएकाले उनका नाबालक छोराको विचल्ली भएको हो । अभिभावकविहीन बालकलाई सहयोग गरिदिन स्थानीयले सबैमा आग्रह गरेका छन् । वर्षातको झरीमा खरले छाएको चुहिने सानो झुपडी घरमा खानेकुरो नहुँदा उनीहरु कयौँ दिन भोकै बस्न बाध्य भएका छन् ।

साहार विहीन बनेका ती बालकलाई अहिलेसम्म कसैले पनि सहयोग तथा स्याहार नगरेका कारण झनै समस्या हुँदै आएको सायल गाउँपालिका–६ का स्थानीयवासी रमेशबहादुर थापाले बताए । उनले भने, “तीन साना बालक एक्लै घरमा बस्छन्, उनीहरुलाई खानेकुरो दिने मान्छे पनि छैनन्, बिजोक भएको छ ।”

घरमा रहेको अन्नपात पकाएर खान सक्ने अवस्था नभएका कारण पनि उनीहरुलाई समस्या हुन थालेको थापाले जानकारी दिए । लामो समयसम्म बिरामी रहेका बुवाको करिब १५ महिना पहिले मृत्यु भएसँगै आमाले पनि एकाएक बालबच्चा र घार छोडेर सम्पर्क विहीन भएपछि ती बालकको बिचल्ली भएको सायल गाउँपालिकाका अर्का स्थानीयवासी तथा नेकपाका युवा नेता तेज डुम्रेले बताए।

उनले भने, “बुवा बिरामी थिए बिते, आमाले अकस्मात बालबच्चा छोडेर बेपत्ता भएपछि बाललकको संरक्षण र रेखदेख गर्ने मान्छे नहुँदा समस्या उत्पन्न भएको हो, उनीहरुको समस्या समाधानका लागि सबैले सहयोग गर्न जरुरी छ ।”

दीर्घरोगमा रुपमा रहेको दम र क्षयरोगले पीडित बाजी खातीको मृत्यु भएसँगै वडाका नागरिकको सहयोगमा उनीहरुका लागि केही खाद्यान्न र लुगा कपडा दिए पनि घरमा पकाएर दिने मान्छे नभएका कारण ती बालकहरुलाई समस्या भएको सायल गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर खडायतले बताए । उनले भने, “वडाका नागरिकको सहयोगमा हामीले केही खाद्यान्न र लुगा कपडा दिएका थियौँ तर अभिभावक नै सम्पर्कविहीन भएपछि बालकको विचल्ली भयो ।”

श्रीमान्को मृत्यु भएको केही महिनामा नै छिमेकी मुलुक भारतको उडिसा शहरमा माइती भएकी आमा गोमा नाबालक छोरा छोडेर उतै सम्पर्कविहीन भएको स्थानीयवासी बताउँछन् । आमा बुवाविहीन भएका नौ वर्षका लक्ष्मणले आफ्ना दुई भाइको रेखदेख गरिरहेका छन् ।

उनले भने, “गाउँमा मागेर खादै छौँ, सधैँ कति माग्नु काम गर्न सक्ने उमेर र अवस्था छैन, के गरेर जिन्दगी काटौँ, सारै दुःख भयो ।” अभिभावकविहीन भएका बालकको उचित लालनपालनका लागि गाउँपालिकाबाट आवश्यक पहल गरिने सायल गाउँपालिकाका उपाध्यक्ष विष्नादेवी सिंहले बताए।