राजनीति

नेकपाका उपाध्यक्ष गौतमविरुद्धको रिटमा आज पनि सुनुवाई स्थगित

२८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिट निवेदनको सर्वोच्च अदालतमा आज पनि स्थगित भएको छ ।

असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो । उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो । उक्त मुद्दा आज संवैधानिक इजलासको पेसीमा चढ्न सकेन ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दिएका थिए ।

गौतमको मुद्दाका लागि गठन गरिएको संवैधानिक इजलाशमा प्रधानन्यायाधीसहित पाँच न्यायाधीश छन् । जसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडा रहेका छन् ।