३ कात्तिक, काठमाडौं । नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली सरकारले कोरोना नियन्त्रण गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र बिज्ञहरुसँग छलफल गरी अगाडी बढ्नुपर्ने बताएका छन् । प्रवक्ता श्रेष्ठले चौतर्फी सँकट गहिरिदै गएको कोरोना नियन्त्रण तथा ब्यबस्थापनको जिम्मेवारी हामी सबैको हो भएपनि मुलतः सरकारको नै भएको बताउँदै त्यसको नियन्त्रणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र विज्ञहरुसँग छलफल गरेर अगाडी बढ्नुपर्ने विचार व्यक्र गरेका छन् ।
सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिदै अहिलेसम्मका नीति, योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नु पर्ने आवश्यकता रहेको प्रवक्ता श्रेष्ठले आफ्नो फेस्बुकमा लेख्दै बताएका छन् । महामारी र बिश्वब्यापी परिघटना भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न सकिने स्थिति हुँदैन भन्ने कुरा पनि स्पष्टै भएको र कसैले पनि आफ्नो जिम्मेवारीबाट पञ्छिन भने नमिल्ने सचिवालय सदस्य श्रेष्ठको तर्क छ ।
प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल काँग्रेससँग सहकार्य गर्न प्रधानममन्त्रीलाई आग्रह गरिरहँदा काँग्रेसले दिएका राम्रा सुझावहरु प्रधानमन्त्रीले अबलम्बन नगरेको भन्दै काँग्रेस प्रधाानमन्त्रीसँग रुष्ट छ ।
नेता श्रेष्ठको स्टाटस्ः कोभिड–१९ ले उत्पन्न गरेको चौतर्फी सँकट गहिरिदै गएको छ । यसको नियन्त्रण तथा ब्यबस्थापनको जिम्मेवारी हामी सबैको हो र, मुलतः सरकारको हो । यो महामारी र बिश्वब्यापी परिघटना भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न सकिने स्थिति हुँदैन भन्ने कुरा पनि स्पष्टै छ। तर हामी कसैले पनि आफ्नो जिम्मेवारीबाट पञ्छिन मिल्दैन। तसर्थ सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिदै अहिलेसम्मका नीति, योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नु पर्ने आवश्यकता छ । साथै सबै राजनीतिक पार्टीहरु र समाजका सबै पक्षले यसमा सहयोग गर्नु पर्दछ।सरकारले यथाशीघ्र प्रतिपक्षी पार्टीलगायतका राजनीतिक पार्टीहरु र बिज्ञहरुको बैठक बोलाई परामर्श गर्नु उचित हुनेछ ।






