२२ कात्तिक, वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी हुनु भएको छ भने अहिले मतगणना भइरहेका चार राज्यमा पनि उहाँको फराकिलो अग्रता रहेको छ ।
सवैभन्दा धेरै इलोक्टोरल मत रहेको र लामो समयसम्म ट्रम्पले अग्रता लिइरहेको पेन्सिल्भानियामा पनि बाइडनले ट्रम्पलाई पछाडि पार्नु भएको छ । अहिले गणना भइरहेका छ मध्ये यो पेन्सिल्भानियामा मात्रै विजयी भएपनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।
अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २७० इलोक्टोरल मत चाहिनेमा पेन्सिल्भानियामा मात्रै जितेपनि बाइडेनको कुल २७३ इलेक्टोरल मत हुनेछ । त्यस बाहेक नतिजा आउन बाँकी रहेकामध्ये जर्जिया, नेभाडा र एरिजोनामा पनि बाइडेनको अग्रता कायमै रहेको छ । ट्रम्पको अग्रता भने नर्थ क्यारोलाइना र अलास्कामा मात्रै रहेको छ । त्यसैगरी अब गन्न बाँकी हुलाकमार्फत आएका मतमा पनि बाइडेनको अग्रता कायमै रहन सक्ने आकलन गरिएको छ ।
अहिलेसम्मको अवस्थालाई हेर्दा ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित हुने संभावना लगभग सकिएको धेरैले दाबी गरेका छन् । तर ट्रम्प पक्षले भने निर्वाचनको अन्त्य सम्ममा आफूहरुले नै जित्ने दाबी गर्न छाडेका छैनन । आफू पराजित हुने देखेपछि प्रतिश्पर्धामा रहेका भएका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् ।
मतदान र मतगणनामा धाँधली भएको भन्दै उनले तत्काल मतगणना रोक्न माग गर्दै अदालतमा उजुरी पनि दिएका थिए। तर उनको उजुरीहरु अदालतले खारेज गरिदिएको छ । उनले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्धारा दर्ता गरिएको उजुरी खारेज गरिदिएको अदालतले जनाएको छ ।
अन्तिम नतिजा आउनै लाग्दा उनले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उनको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले निर्वाचन अझै नसकिएकाले तत्काल आफू विजयी भएको घोषणा नगर्न बाइडेनलाई चेतावनी दिएका छन् । उनले हुलाकबाट आएको मत र धाँधली भएका ठाउँहरुको बारेमा विवाद नटुंगिदासम्म विजयी भएको दाबी गर्न नमिल्ने तर्क गर्नुभयो ।
तर बाइडेनले भने आफू विजयी हुने सुनिश्चित भइसकेको दाबी गर्दै कार्यालय सम्हाल्ने तयारीमा रहेको बताएका छन् । बाइडेनले सम्बोधन गर्दै स्पष्ट बहुमतसहित विजय हुनेतर्फ आफूहरू लम्किरहेको बताएका हुन् । उनले झण्डै तीन सय इलोक्टोरल मतका साथ आफू विजयी हुने पनि अनुमान सुनाए।
उनले कोरोनाभाइरसको सङ्क्रमण बढीरहेकाले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै यसैका बारेमा काम गर्ने जानकारी दिए ।अमेरिकामा पछिल्ला केहीदिन देखि दैनिक एक लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।





