राजनीति

संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु: उपाध्यक्ष गौतम

२६ कात्तिक, काठमाडौं । नेकपा उपाध्यक्ष बामदेब गौतमले सर्बोच्च अदालको आजको फैसलालाई स्वागत गरेका छन् । नेता गौतमले बिज्ञप्ती जारी गर्दै भनेका छन्, ‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ ।’ उनले हर्षित हुँदै थपेका छन्, ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भभाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।’ नेता गौतमले विज्ञप्तीमार्फत प्रतिबद्धता ब्यक्त गरेका छन्, ‘वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।’