ब्रेकिङ न्युज

शंकरको ठाेकुवा :  नयाँ शक्तिको उदय आर्थिक-सामाजिक असन्तोषको परिणाम, धेरै टिक्दैन

२५ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई केवल सत्ता परिवर्तनको रूपमा नभई आर्थिक–सामाजिक अन्तर्विरोधबाट उत्पन्न असन्तोषको परिणाम भएको दाबी गरेका छन्।

पोखरेलले आम निर्वाचन २०८२ मा नयाँ शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको उल्लेख गर्दै, लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको जगमा उभिएको नयाँ शक्ति दीर्घकालसम्म टिक्न नसक्ने ठोकुवा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा वर्तमान राजनीतिकप्रति लामो टिप्पणी गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नेपालीहरूको जीवनस्तर उकासिए पनि त्यसअनुसार आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा असन्तुष्टि चुलिएको उल्लेख गरेका छन् ।

जीवनस्तर र आयबीचको यही असन्तुलनले समाजमा व्यापक असन्तोष सिर्जना गरेको हो। वस्तु तथा सेवाको उपभोग बढ्यो, तर त्यसलाई धान्ने आय बढेन भन्दै उनले यही परिस्थितिले भ्रष्टाचार, कालोबजारी, अपराधीकरण, पैतृक सम्पत्तिको क्षय र तीव्र वैदेशिक पलायनलाई बढावा दिएको उल्लेख गरेका छन्। राज्यले समयमै यी समस्याप्रति ध्यान नदिँदा नागरिकमा निराशा र आक्रोश बढेको उनको भनाइ छ।

महासचिव पोखरेलले आम निर्वाचन २०८२ मा मूलधारका दलहरूले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई प्रमुख एजेन्डा बनाए पनि त्यसले मतदातालाई आकर्षित गर्न नसकेको बताएका छन्।

बरु भ्रष्टाचार अन्त्य, सुशासन र रोजगारीलाई मुख्य मुद्दा बनाएका वैकल्पिक शक्तिहरूले जनमत आफ्नो पक्षमा पार्न सफल भएको उनको विश्लेषण छ।

उनले पुराना शक्तिबाट पूरा नभएका अपेक्षा नयाँ शक्तिबाट मात्र सम्भव छन् भन्ने भाष्य उनीहरु सफल भएको बताएका छन् ।

सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले त्यसलाई थप बल पुगेको र मूलधारका राजनीतिक दलहरूले त्यसको प्रभावकारी प्रतिवाद गर्न नसकेको पनि उनको टिप्पणी छ।

पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा भूराजनीतिक प्रभावसमेत रहेको दाबी गरेका छन्।

उनका अनुसार पुराना दलहरूको विपक्षमा र नयाँ शक्तिको पक्षमा जनमत निर्माण गर्न बाह्य चलखेल भएको थियो।

पोखरेलले जेन्जी अभियानकर्ताका नाममा भएका प्रदर्शनहरूलाई भिडन्तमा रूपान्तरण गरेर जनआक्रोश बढाउने प्रयास भएको दाबी गर्दै, भदौ २३ र २४ का घटनाको जगमा भएको सत्ता परिवर्तनमा बाह्य शक्तिको हस्तक्षेप रहेको उल्लेख गरेका छन्।

नयाँ शक्तिको भविष्य बारे टिप्पणी गर्दै पोखरेलले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको आधारमा सत्तामा पुगेको नयाँ शक्तिले लामो समयसम्म जनविश्वास कायम राख्न नसक्ने दाबी गरेका छन्।

उनले वर्तमान सरकारले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाबाट समस्याको समाधान खोज्नुको सट्टा स्वेच्छाचारी र अधिनायकवादी शैली अपनाउन खोजिरहेको आरोप लगाएका छन्।

लामो लोकतान्त्रिक आन्दोलनबाट परिपक्व बनेको नेपाली समाजले यस्तो अलोकतान्त्रिक अभ्यासलाई लामो समय स्वीकार गर्दैन भन्दै उनले यस्तो प्रवृत्ति छिट्टै अस्वीकार हुने दाबी गरेका छन् ।