२४ असार, विराटनगर । विराटनगरमा जिल्ला प्रशासन कार्यालयकै नाम दुरुपयोग गर्दै नक्कली नागरिकता बनाउने गिरोह सक्रिय रहेको घटना सार्वजनिक भएको छ। नक्कली कार्यालयमार्फत नागरिकता बनाइदिने भन्दै सर्वसाधारणबाट ठूलो रकम असुल्ने गिरोहको गतिविधि बाहिर आएको हो।
विराटनगर–११ निवासी अशोककुमार श्रेष्ठले आफूलाई प्रशासनसँग पहुँच भएको व्यक्ति भनेर चिनाउँदै नागरिकता बनाइदिने आश्वासन दिएका थिए। त्यसकै विश्वासमा मजदुरी गरेर जीवनयापन गरिरहेकी मनिषा कामतले आफ्ना कागजात, फोटो र एक लाख ३० हजार रुपैयाँ उनलाई बुझाएकी थिइन्।
केही दिनपछि श्रेष्ठले मनिषालाई नागरिकता तयार भएको भन्दै कागजात हस्तान्तरण गरे। नागरिकता पाएपछि उनी राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगिन्। तर, त्यहाँ जाँच गर्दा उनले बोकेको नागरिकता नक्कली रहेको खुलासा भयो।
घटनापछि प्रशासनिक निकायले नागरिकलाई सरकारी कागजात बनाउन कुनै पनि बिचौलिया वा अनधिकृत व्यक्तिको भर नपर्न आग्रह गरेको छ। प्रारम्भिक विवरणले सर्वसाधारणलाई सरकारी पहुँचको प्रलोभन देखाएर ठगी गर्ने संगठित गिरोह सक्रिय रहेको संकेत गरेको छ।





