२३ असार, काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन अभियानअन्तर्गत च्यासलमा आयोजित केन्द्रीय सल्लाहकारहरूको सुझाव संकलन कार्यक्रम अध्यक्ष केपी शर्मा ओली र केही सल्लाहकारबीचको तीखा सवाल–जवाफका कारण तनावपूर्ण बनेको छ।
बैठकमा अधिकांश सल्लाहकारहरूले आफ्नो धारणा राखिसकेपछि अध्यक्ष ओली कार्यक्रमस्थल पुगेका थिए। उनी पुगेलगत्तै कार्यक्रम सञ्चालकले बोल्नका लागि समय दिएपछि ओलीले आफ्ना धारणा राख्न थाले। त्यसक्रममा सल्लाहकार सदस्य डा. सुरेन्द्र मानन्धरले बीचमै आपत्ति जनाउँदै पहिले सहभागीहरूको सुझाव सुन्न आग्रह गरेका थिए।
मानन्धरले नेतृत्वले कार्यकर्ताको धारणा नसुन्ने प्रवृत्तिकै कारण पार्टी अहिलेको अवस्थामा पुगेको टिप्पणी गर्दै, सुझाव संकलनको उद्देश्य नै नेतृत्वले सुन्नु भएकाले पहिले सबैको कुरा सुन्नुपर्ने बताएका थिए।
तर अध्यक्ष ओलीले आफ्नो सम्बोधन जारी राख्दै अनुशासन र विधिको प्रसंग उठाएका थिए। त्यसपछि बैठकमा रहेका अन्य सल्लाहकारहरूले पनि वर्षौंदेखि नेतृत्वको कुरा सुनिरहेको भन्दै यसपटक नेतृत्वले आफूहरूको धारणा सुन्नुपर्ने माग गरेका थिए।
स्रोतका अनुसार, पूर्व केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनाले पनि पहिले सुझाव सुन्न आग्रह गरेपछि अध्यक्ष ओलीले उनलाई ‘नानी, तिमी चुप लाग’ भनेका थिए, जसले बैठकको माहोल थप तातिएको थियो।
नोकझोक बढेपछि कार्यक्रम सञ्चालक निरज आचार्यले स्थिति सम्हाल्ने प्रयास गरेका थिए। तर मानन्धरले आफू पनि लामो समयदेखि पार्टीमा योगदान दिएको उल्लेख गर्दै नेतृत्वको ‘ठालु प्रवृत्ति’लाई प्रश्रय नदिन आग्रह गरेका थिए।
अन्ततः अध्यक्ष ओली आफ्नो सम्बोधन सकेर कार्यक्रमबाट बाहिरिए। त्यसपछि बाँकी सल्लाहकारहरूको सुझाव उपाध्यक्ष रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायत नेताहरूले सुनेर टिपोट गरेका थिए।





