सुदूरपश्चिम

जनयुद्धदेखि कृषि व्यवसायसम्म ललितको सङ्घर्ष

३० कात्तिक, भजनी । अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत हुनुभयो ।

विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने थापा पहिलो हुनुहुन्छ । त्यसपछि थापाका तीन भाइ, एक बहिनी पनि माओवादीमा भूमिगत भए । गाउँसंँगै जोडिएको कैलाशखोलाको किनारमा आमाबुवाले सञ्चालन गरेको चिया पसल त्यसबेलाको दैनिक गुजारा गर्ने एक माध्यम भए पनि घरबाट चार जना माओवादीमा गएपछि तत्कालीन नेपाली सेनाले त्यहाँ उनको परिवारलाई रहन खान दिएन । कैयौँपटक ललितको बुवाले सेनाबाट कुटाइ खानुपर्यो भने आमाले तिरस्कार सहनुपर्यो । त्यति मात्र नभई पसल तोडफोडका साथै भएको सामानसमेत सेनाले लिएको ललित बताए ।

“गर्यौँ भने असम्भव केही पनि छैन । म जनयुद्धदेखि अहिलेको व्यवसायसम्म कतै असफल भइनँ”, ललितले भने, “धैर्य र इमानदारी पहिलो कुरा हो, जहाँ धैर्य र इमान्दारी हुन्छ, त्यहाँ सफल भइन्छ ।” उनले विसं २०६९ बाट व्यावसायिक भैँसीपालन शुरु गरे । दुईवटा थारो भैँसीबाट शुरु गरेको उनले एकपछि अर्को क्षेत्रलाई जोड्दै गएको बताए । उनले दुई भैँसी किनेसंँगै तीन महिना जेटिए भेटेरेनरीको तालिमसम्म लिए । सस्तोमा किनेका थारो ब्याउने भए । त्यसपछि उहाँले थारो भैँसी किन्ने र त्यसको आवश्यक उपचार गरी ब्याउने भए महङ्गोमा बेच्ने अभियान नै थाल्नुभयो । त्यसबाट सफलता हासिल गरेका थापाले मासुका लागि पाडा उत्पादन शुरु गरे । उनले सफा मासुका लागि भन्दै १०० भन्दा बढी पाडा सङ्कलन गरी बिक्रीसमेत गरे ।

दुई थारो भैँसीबाट शुरु गरेको व्यवसाय बढाउँदै उनले ४० वटा दुहुनो भैँसीसम्म पुर्याए । थापाले भैँसीको नश्ल सुधारका लागि भन्दै भारतको पलियाबाट उन्नत जातको राँगासमेत भित्र्याए । “म यति गर्दा पनि सन्तुष्ट हुन सकिनँ, एकपछि अर्को क्षेत्रलाई अँगाल्दै गएँ । मेहेनत र धैर्य महत्वपूर्ण हुँदोरहेछ”, थापाले भने, “त्यही मेहेनतले जनयुद्धका कैयौँ लडाइँ हुँदै अहिले व्यावसायिक कृषिमा समेत सफलता प्राप्त गरेको छु ।”

रक्सी होइन, दूध खाऔँ अभियान

ललित थापाले व्यावसायिक कृषिसँगै आफ्नो राजनीतिक यात्रालाई समेत अगाडि बढाउँदै जाँदा उनले स्थानीय नागरिकहरूसँगको संवादमा जहिले पनि रक्सीको विरोध गरे । कृषि क्षेत्रबाटै समृद्धि देखेका थापाले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समेत जनतामाझ जाँदा रक्सी होइन, दूध खाऔँ भन्ने एजेण्डालाई पनि साथमा लगेको बताए । व्यावसायिक भैँसीपालनसँगै स्थानीयस्तरमै आत्मनिर्भरका लागि थुप्रै सम्भावना रहेको बताउँदै थापाले त्यसमा सरकारको नारा भने कागजमा मात्र सीमित रहेको बताए ।

सात बिघा जग्गा भाडामा लिएर भैँसीपालनसँगै थापाले केराखेती र घाँसखेतीसमेत गर्दै आउनुभएको छ । उहाँले एक बिघा क्षेत्रफलमा केराखेती गरेका छन् भने त्यति नै घाँसखेती गरेको छ । घाँसको बीउ उत्पादन गरी अन्य किसानलाई बजार भाउभन्दा १० प्रतिकिलो सस्तोमा बिक्री गर्दै आएको थापा बताए ।

गड्यौला मल उत्पादन शुरु

थापाले दुई वर्षदेखि गड्यौला मल उत्पादन शुरु गर्नुभएको छ । उनले काठमाडौँदेखि २० केजी गड्यौला ल्याएर स्थानीयस्तरमै गड्यौला मलको उत्पादन शुरु गरेका छन् । प्रतिकिलो दुई हजार २०० मा गड्यौला खरिद गरी व्यावसायिक मल उत्पादन शुरु गरेका थापाले ३५ केजी गड्यौला उत्पादन गरेर पनि सोही दरमा अन्य किसानलाई बिक्री गरिसकेको बताए ।

“सरकारले मल आयातमा किसानको माग पूरा गर्न सकेको छैन । त्यसमा पनि किसान रासायनिक मलमै आश्रित रहेको देखेर मैले गड्यौला मल उत्पादन शुरु गरेको हुँ”, थापाले भने, “जैविक उत्पादनका लागि गड्यौला मल सबैभन्दा उत्तम छ । अहिले खाने प्रत्येक खानासँग हामीले विष खाइरहेका छौँ । मेरो अर्को अभियान हो, किसानलाई रासायनिक मलमा नभई प्राङ्गारिक अर्थात् गड्यौला मल प्रयोग गराउने ।” उनले यो सिजनमा मात्रै १०० क्विन्टलभन्दा बढी गड्यौला मल बिक्री गरेको बताए । थापाले बजार र किसानको मागलाई अझै पूर्ति गर्न नसकेको बताउँदै व्यावसायिकरूपमा गड्यौला मल उत्पादनको मात्रा बढाउने बताए । थापासँग उहाँको परिवार र अन्य दुई जनाले रोजगारीसमेत पाएका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको कैलाली जिल्ला उपाध्यक्षसमेत भइसकेका थापाले टीकापुर नगरपालिकाको प्रमुखको उम्मेदवारीमा करिब ३५० मतले पराजित भएका थिए। त्यसपश्चात तत्कालीन माओवादी र एमालेको एकतापछि राजनीतिक सङ्गठनमा आबद्ध नभएको बताउँदै थापाले वर्तमान सरकारले जनताको आवश्यकतालाई पूर्ति गर्न नसक्ने भन्दै १० वर्षे जनयुद्धको मूल मर्म अहिले सत्तामा गएकाहरूले बिर्सेको बताए ।

“हामीले जनयुद्ध राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुमात्र थिएन”, थापाले भन्नुभयो, “यी दुई कुरा भए पनि जनयुद्धका घाइते, अपाङ्ग, शहीद, वेपत्ताले देखेको सपना तत्कालीन माओवादीले पूरा गर्न सकेन । त्यसैको परिणाम अझै पनि एक पक्षले अर्को क्रान्तिको सपना देखेको छ । त्यो वास्तविक पनि हो ।”