बाग्मती

‘गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा’ सार्वजनिक

३० कात्तिक, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका पुरातात्विक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्पदाको परिचय दिने पुस्तक ‘गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा’ प्रकाशन गरेको छ ।
राज्य पुनर्संरचना भई तीन तहको सरकार बनेपछि स्थानीय सरकारका तर्फबाट आफ्नो क्षेत्रभित्रका सांस्कृतिक सम्पदाको परिचय पुस्तिका प्रकाशन गर्ने गोकर्णेश्वर नै पहिलो भएको नगर प्रमुख सन्तोष चालिसेले दाबी गरे । पुस्तक लोकार्पणका अवसरमा उनले धार्मिक दृष्टिकोणले गोकर्णेश्वर महत्वपूर्ण रहेको बताए ।
नगरपालिकाभित्रका धार्मिक केन्द्रको विकास एवं विस्तारलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको जनाएको छ । नगर उपप्रमुख शान्ति नेपालले नगरपालिकाको वास्तविक पहिचान नै यहाँका धार्मिक धरोहर भएको बताए । संस्कृतिविद् प्रा डा ऋषिराम पोखरेल, वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ लगायतका वक्ताले संस्कृति तथा साहित्यको विकासविना समृद्ध नगरको परिकल्पना गर्न नसकिने बताए ।
नगरपालिका धार्मिक समितिका संयोजक पण्डित दिवाकरप्रसाद भण्डारीको नेतृत्वमा पुस्तक सम्पादन गरिएको हो । कार्यक्रममा समितिका सहसंयोजक कुलप्रसाद पुडासैनी, नगरपालिका–५ का अध्यक्ष नाराणबहादुर सुवेदी, ६ का अध्यक्ष रमेश अर्याल, ८ का अध्यक्ष मनोज ढुङ्गानालगायत वक्ताले नगर क्षेत्रमा रहेका विभिन्न धार्मिक गन्तव्यको विकासका लागि भइरहेका कामबारे प्रकाश पारेका थिए । दुई सय पृष्ठको पुस्तकमा नगरपालिकाको नौवटै वडामा रहेका सानाठूला सांस्कृतिक सम्पदाको विवरण समेटिएको छ । नगर क्षेत्रमा मनाइने विभिन्न जात्रा एवं पर्वको जानकारी पनि पुस्तकमा गराइएको छ । ती जात्रासँग सम्बन्धित केही तस्बीर पनि समावेश गरिएको छ ।