आर्थिक

९७ लाख नगद चोरी गर्ने पक्राउ

३० कात्तिक, मुग्लिन । चितवन प्रहरीले ९७ लाख नगद चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् । उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए । थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्ने आएका थिए ।

प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टर (भवन) मा निज कविराज थापा बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा नगद ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा नगद ४० लाख गरी ९७ लाख र चोरी कार्यमा प्रयोग हुने औजारहरूसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज जानकारी दिए। थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता थापाले बताए ।

चार दिनमा ४६ जना फरार

यसैबीच, चितवनमा चार दिनमा ४६ जना फरार अभियुक्तहरु पक्राउ परेका छन् । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकी फरार रहेका ४६ जना व्यक्तिलाई कात्तिक २५ देखि २८ गतेसम्म पक्राउ गरिएको हो । चोरी, जबर्जस्ती करणी, लागुऔषध, कर्तव्य ज्यान, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्जसम्बन्धी कसुर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध विच्छेद मुद्दामा फरार रहेका ४५ जना पुरुष र एक महिला गरी ४६ जना फरार व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक) थापाले जानकारी दिए। पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा बुझाइएको प्रवक्ता थापाले बताए । जसबाट ७ वर्ष ९ महिना २६ दिन कैद र चार लाख आठ हजार ३११ रकम असुल उपर भएको उहाँले जानकारी दिए ।