१५ मङ्सिर, भजनी/ कैलालीमा दुई स्वास्थ्य भवन शिलान्यास गरिएको छ । घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले अस्पतालको शिलान्यास गरेका छन् भने गौरीगङ्गा र लम्कीचुहा नगरपालिका तथा महुन्याल गाउँपालिकाले आन्तरिक तयारी हुन नसकेको जनाई मङ्गलबार शिलान्यास गरिने बताइएको छ ।
अघिल्ला चार स्थानीय तहमा १५ – १५ शय्या र महुन्यालमा १० शय्याको अस्पताल निर्माण हुने भएको छ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले सङ्घीय सांसद गौरीशङ्कर चौधरीले अस्पतालको शिलान्यास गरेको बताउँदै समयअघि नै अस्पतालको काम सम्पन्न हुने गरी काम गरिने दृढता व्यक्त गरे । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरीले पनि गाउँपालिकामा १५ सैयाको अस्पतालको शिलान्यास भएको बताएका छन् ।
लम्कीचुहाका प्रमुख महादेव बजगाईँले मङ्गलार स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अस्पताल भवनको शिलान्यास गर्ने जानकारी दिए । गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवाका अनुसार मङ्गलबार स्वास्थ्य राज्यमन्त्री रावतले अस्पताल शिलान्यास गर्नेछन् । महुन्याल गाउँपालिकामा भने अध्यक्ष नवलबहादुर रावल कोरोना सङ्क्रमित भएर उपचाररत रहेकाले अस्पताल शिलान्यास गर्न समय लाग्ने भएको छ । अध्यक्ष रावलले आफू कोरोना सङ्क्रमित भई टीकापुरमा उपचार गराइरहेको बताउँदै अस्पतालको शिलान्यासका लागि केही तयारी गर्न बाँकी रहेकाले समय लाग्न सक्ने जनाए ।
जिल्लाका धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गोदावरी नगरपालिकामा पुरानै अस्पताल छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख गुणराज अवस्थीले बाँकी स्थानीय तहमा अर्को वर्ष अस्पताल निर्माणको काम हुने जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम प्रदेशमा १५ शय्याका २३ र १० शय्याका ३१ अस्पताल निर्माण गरिने छन् । प्रदेशका १३ स्थानीय तहमा अहिले पनि अस्पताल सञ्चालित छन् ।
देउखुरी– राप्ती गाउँपालिकाको सिसहनियाँमा आज १५ शय्याको अस्पताल निर्माणका लागि भवन शिलान्यास भएको छ । सिसहनियाँ स्वास्थ्यचौकी नजीकै सार्वजनिक जग्गामा आधारभूत अस्पताल निर्माण गर्न लागिएको हो ।
हाल स्थानीय नागरिकको सहयोग तथा सरोकार पक्षको सहयोगमा अस्पताल भवनका लागि आवश्यक पर्ने करीब १३ कट्ठा सार्वजनिक जग्गा उपलब्ध गराइएको र थप जग्गाका लागि पहल गरिने वडा नम्बर ५ का वडाध्यक्ष गोवद्र्धन रावतले जानकारी दिए ।
अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ । अस्पताल भवन निर्माणका लागि सरकारले सम्बन्धित स्थानीय पालिकालाई आंशिक बजेटसमेत पठाइसकेको छ । तत्काल भवनको अनुमानित लागत, डिपिआर तथा माटो परीक्षणको काम अघि बढाइने गाउँपालिकाका इञ्जिनीयर अशोक बेल्बासेले बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार १५ श्ययाको अस्पताल हुनेमा राप्ती गाउँपालिकाको सिसहनिया स्वास्थ्यचौकी, पश्चिम दाङको दङ्गीशरणमा श्रीगाउँ स्वास्थ्यचौकी, बबई गाउँपालिकाको पुरन्धारा स्वास्थ्यचौकी, शान्तिनगरको बाघमारे स्वास्थ्यचौकी र बङ्गलाचुली गाउँपालिकाको कमिरेचौर स्वास्थ्यचौकी छन् ।





