पु.समाचार

अध्यादेश लगायतबारे छलफल गर्न कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै

३ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ । सरकारले एकाएक ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत समसामयिक विषयमा छलफल गर्न संसदीय दल कार्यसमितिको बैठक बस्न लागेको हो ।

बैठक शुक्रबार बिहान साढे १० बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीयले जनाएको छ । बुधबार कांग्रेस पदाधिकारी बैठकले संसदीय दल कार्यसमिति बैठक बोलाएर संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेशसँगै अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।

अध्यादेशमा ऐनको दफा ६ मा रहेको ‘परिषद्को बैठकसम्बन्धी कार्यविधि’ सम्बन्धी केही व्यवस्था परिवर्तन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अध्यादेश गएको बैशाख ८ गते पनि ल्याए पनि व्यापक आलोचनापछि फिर्ता लिएका थिए ।

दोस्रोपटक सोही अध्यादेश ल्याइएपछि नेकपा भित्रैबाट व्यापक आलोचना भएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्ने प्रतिवद्धता गरेका छन । तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठमा अध्यादेश फिर्ता लिनेबारे प्रसंग नै उठाइएन ।