६ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिबाद उत्कर्षमा पुगेसंगै फुटतर्फ केन्द्रित भएको छ । नेकपामा बिबाद जारी रहेकै बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेसंगै पार्टीमा थप संकट उत्पन्न भएको छ । दुई अध्यक्षले आज छुट्टा–छुट्टै गुटको भेला आह्वान गरेसंगै पार्टी फुटको संघारमा पुगेको देखिएको छ ।
संसद भंग भएपछि विकसित राजनीतिक घटनाक्रमबारे नेकपाका दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफू पक्षीय नेताहरुसँग छलफल गर्दैछन् । हिजो पार्टी स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
भोलि बस्ने केन्द्रीय समितिको बैठकले कस्तो खालको कारवाही गर्ने भन्ने निर्णय गर्नेछ। त्यसअघि ओली आफ्नो रणनीति बनाउन छलफलमा जुट्न लागेका हुन् ।
भने उता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पनि आफू निकटका सांसदहरुसँग परामर्श गर्दै छन् । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरुलाई छलफलका लागि बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डले पछिल्लो घटनाक्रमबारे सांसदहरुलाई ब्रिफिङ गरी कसरी अघि बढ्ने भन्नेबारे परामर्श गर्न लागेको सचिवालय स्रोतले जनाएको छ । सभामुखको विशेषाधिकार प्रयोग गरी संसद अघि बढाउने विकल्पमा पनि प्रचण्डले परामर्श गर्नेछन् ।





