अन्तर्राष्ट्रिय

ट्रम्प समर्थकद्वारा संसदमै आक्रमण र तोडफोडः एकको मृत्यु, लगाईयो कर्फ्यु

२३ पुष, एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका छन । अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ । संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ ।

अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो । सदनभित्र बहस चलिरहेकै बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए । झ्याल र ढोका तोडफोड गरेरै हतियारसहित ट्रम्प समर्थक भित्र पसेको बिबिसीले उल्लेख गरेको छ ।

संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भएको थियो । प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन । बेलुका ६ बजेदेखि सुरु भएको कर्फ्यु आदेश बेलुका ६ बजेसम्म जारी रहनेछ । कर्फ्यूको बाबजुद पनि संसद भवन क्षेत्र वरपर प्रदर्शन भैरहेको छ ।

संसद आक्रमणको घटना लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेका छन् । अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू गर्ने प्रयास गरेको भन्दै उनले लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरेका छन् । कमला ह्यारिस लगायत जर्ज बुसले समेत अमेरिकी संसदमाथिको आक्रमण लोकतन्त्रमा शोभनिय नभएको बताएका छन ।