११ असार, काठमाडौं । श्रीलंका सरकारले विद्यालयहरूमा बालबालिकालाई फास्ट फूड र मिठाई दिन रोक लगाउने भएको छ ।
बालबालिकामा मधुमेह र मुटुसम्बन्धी समस्याका बढ्दो घटनालाई ध्यानमा राखेर यस्तो कदम चालिएको सरकारले जनाएको छ ।
यस प्रतिबन्धको दायराभित्र बर्गर, पिज्जा, आइसक्रिम, बिस्कुट, फ्लेभर्ड मिल्क, एनर्जी ड्रिंक, पेस्ट्री, तेलमा डिप फ्राई गरिएका स्न्याक्स तथा टमेटो ससजस्ता खाद्य पदार्थहरू पर्ने बताइएको छ ।
श्रीलंकाको शिक्षा मन्त्रालयले यसै हप्ता विद्यालयहरूलाई एउटा निर्देशिका पठाउँदै बालबालिकालाई बढी चिनी, नुन र फ्याटयुक्त खाद्य पदार्थ नदिन निर्देशन दिएको थियो ।
अधिकारीहरूले मंगलबारदेखि यो प्रतिबन्ध लागु गर्ने प्रक्रिया सुरु गरेका छन् ।
मन्त्रालयले विद्यालय व्यवस्थापनलाई विद्यार्थीहरूलाई चामल, फलफूल, तरकारी, दूध, माछा, मासु र अण्डाजस्ता पौष्टिक खाद्य पदार्थ खान प्रोत्साहित गर्न पनि आग्रह गरेको छ ।
श्रीलंकाको सरकारी तथ्यांकअनुसार सन् २०२४ मा देशका १२ प्रतिशत विद्यालय जाने बालबालिकाको तौल आवश्यकताभन्दा बढी थियो भने तीन प्रतिशत बालबालिकामा मोटोपनको समस्या देखिएको थियो ।
अर्कोतर्फ, युनिसेफका अनुसार श्रीलङ्कामा पाँच वर्षमुनिका करिब १७ प्रतिशत बालबालिका कुपोषणका कारण पुड्कोपनको शिकार हुने गरेका छन् ।





