अन्तर्राष्ट्रिय

मलेसियामा बाढीः छ को मृत्यु, ५० हजार विस्थापित

२५ पुष, एजेन्सी । मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा छ जनाको मृत्यु भएको छ । देशको पूर्वीतटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

बर्षापछि तटीय क्षेत्रमा पानी भरिएर मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । उनीहरुले आधा शतब्दीकै सवैभन्दा खराब बाढी आएको पनि बताएका छन् । घटनास्थलमा पिडितहरूलाई उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरु परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

बाढी गएको क्षेत्रमा लगातार बाक्लो बर्षा भएको थियो । बर्षापछिको बाढीले बस्ती डुवानमा परेपछि ४७ हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी प्रारम्भिक तथ्याङ्का छ । “बाढीका कारण मैले मेरो सबै जायजेथा गुमाएको छु, बाढीले मेरो घरको छानो समेत डुवाएको छ,” कारखानामा काम गर्ने ५९ बर्षिय मजदुर तान कोङ लेङले भने। घटनाका बारेमा बताइरहँदा उनले आखाँबाट आशु झारिरहनु भएको थियो ।

घटना भएको क्षेत्रमा हरेक बर्ष बढी बर्षा भएको बेला बाढीले दुःख दिने गरेको छ । बाढीका कारण मानवीय तथा भौतिक क्षति पनि हुने गरेको स्थानीयले बताएका छन् । बाढीका कारण मुख्य राजमार्गसहित धेरै सडक सञ्जालमा क्षति भएकाले यातायात सेवा पनि प्रभावित भएको छ ।