अन्तर्राष्ट्रिय

म्यानमारको सत्तारुढ दलकी नेतृ आङ सान सूची पक्राउ

१९ माघ, एजेन्सी । म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूचीसहित नेतालाई सेनाले गिरफ्तार गरेको छ । एनएलडीका प्रवक्ता म्यो न्यूनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले नेतृ सूचीसँगै अन्य वरिष्ठ नेतालाई सोमबार बिहानै सेनाले गिरफ्तार गरेको जनाएको छ ।

गत नोभेम्बरमा सम्पन्न चुनावमा एनएलडीले सरकार गठनका लागि आवश्यक पर्ने बहुमत प्राप्त गरेपछि सरकार र सेनाबीच तनाब बढीरहेको थियो । चुनावमा धाँधली भएको भन्दै सेनाले संसद बैठक बस्न दिइरहेको थिएन ।

सोमाबर संसद बैठक बस्ने तयारी म्यानमारमा थियो । तर एनाले भने बैठक सार्न भन्दै आएको थियो । यहिबेला सूचीलगायत नेताहरूलाई सेनाले गिरफ्तार गरेको हो । रोयटर्सका अनुसार सोमबार एकाबिहानै सूचीसँगै राष्ट्रपति वुइन मियन तथा अन्य नेतालाई पनि गिरफ्तार भएका छन् ।

म्यानमारको राजधानी नेपिदमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ बीबीसीले जनाएको छ । आफूलाई पनि पक्राउ गर्नसक्ने भन्दै रोयटर्ससँग टेलिफोनमा कुराकानी गरेका एनएलडी प्रवक्ता म्योले भनेका छन्,‘हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु । उनीहरूले कानुन अनुसार व्यवहार गरून् भन्ने अपेक्षा छ ।