अन्तर्राष्ट्रिय

काम्बोडियाका प्रधानमन्त्री दम्पतीसहित विशिष्टहरूलाई कोरोनाको खोप

२७ फागुन, एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री दम्पतीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री सम्देच हुन सेन र उनकी श्रीमतीले भारतमा बनेको खोप बुधबार लगाएको अधिकारीहरूले जनाएका छन् ।

“प्रधानमन्त्री हुन सेनले भारतमा बनेको खोप लगाएका, उनिसँगै उच्च सरकारी अधिकारीहरूले पनि खोप लगाउनु भएको छ,” कम्बोडियास्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

दूतावासका अनुसार संसद्का अध्यक्ष, उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य मन्त्री, सार्वजनिक यातायात मन्त्रीलगायतले पनि भारतमा बनेको कोरोनाविरुद्धको खोप लगाएका छन् । समुदायस्तरमा कोरोनाभाइरसको महामारी फैलिँदै गएकाले कम्बोडियामा अनिश्चितकालका लागि खेल गतिविधिहरू बन्द गरिएको छ ।

कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । “पछिल्लो समयमा समुदायस्तरमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्यामा अत्यधिक वृद्धि भइरहेको छ,” शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुदका गतिविधिहरू नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ । जीम, खेल क्लबहरू, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षणलगायतका कुनै पनि गतिविधि गर्न नपाइने वक्तव्यमा उल्लेख गरिएको छ ।

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्रसमेत बन्द गरिएको छ । त्यसैगरी भीडभाड हुने अन्य गतिविधिहरूका लागि पनि प्रतिबन्ध लगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

भारतले गत फेब्रुअरी ६ मा कम्बोडियालाई भारतमा बनाइएको एक लाख खोप उपलब्ध गराउने निर्णय गरेको थियो । भारतको सो निर्णयबाट भारत र कम्बोडियाको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको पनि अधिकारीहरूले बताएका छन् ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेनको आग्रहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गर्दै कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको थियो । भारतले गत जनवरी २० देखि भूटान, माल्दीभ्स, बहराइन, नेपाल, बङ्लादेश, म्यानमार, श्रीलङ्कालगायतका देशहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ ।

भारतमा पनि उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्चपदाधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनिहरूले सोमबार पहिलो चरणको खोप लगाउँदै आम नागरिकलाई पनि खोप लगाउन आह्वानसमेत गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको ‘इन्डियन इन्स्ष्टिच्यूट अफ मेडिकल साइन्स (एआईआईएमएस) मा गएर खोप लगाएका हुन् ।“मैले आज कोरोनाभाइरसविरुद्धको पहिलो खोप लगाएको छु, चिकित्सक तथा वैज्ञानिकहरूको सिफारिसका आधारमा मैले खोप लगाएको हुँ, विश्वव्यापी महामारीका विरुद्धमा लड्न यसले सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु” उनले भने ।

उनले आफूले खोप प्रतिको विश्वास भएकाले खोप लगाएको उल्लेख गर्दै आमनागरिकलाई पनि खोप लगाउनसमेत आह्वान गरेका छन् । भारतमा गत जनवरी १६ देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको भए पनि प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीले भने सोमबार मात्रै लगाएका हुन् । सोमबार प्रधानमन्त्री मोदीसँगै उपराष्ट्रपति, मन्त्री, न्यायाधीशहरूलगायतका धेरै उच्चपदस्थ पदाधिकारीहरूले खोप लगाएका हुन् ।