गण्डकी प्रदेश

पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु

२८ फागुन, दमौली / तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा आजदेखि पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । स्थानीय कला र संस्कृतिको जगेर्ना, पर्यटकीय स्थलको प्रचारप्रसार, कृषि तथा हस्तकलाको प्रर्दशनी र प्रवद्र्धन गर्ने उद्देश्यसहित झोर्ले गणेश युवा क्लबको आयोजनामा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । उक्त महोत्सव आगामी चैत १ गतेसम्म सञ्चालन हुनेछ ।
ऋषिङमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै ऋषिङलाई देश तथा विदेशमा परिचित गराउन महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक शम्भु थापाले बताए ।
लाङ्घाली युवा क्लब जैसी हटिया तथा विभिन्न आमा समूह, क्लब र सामुदायिक वन उपभोक्ता समितिहरु सहयोगी संस्था रहेको महोत्सवको २० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा १५ लाख बराबरको आर्थिक कारोवार हुने आयोजकको अनुमान छ । कोरोना कहरपछि पहिलो पटक जिल्लामा महोत्सव आयोजना भएको हो ।
महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, विभिन्न जातजातिका सांस्कृतिक नाचहरु ज्यानै, ओहोली, झ्याउरे, चुड्का, लाखे, घाटु, पञ्चैबाजा तथा लोकदोहोरी कार्यक्रमहरु मुख्य आकर्षणको रुपमा रहेको छ । यस्तै मगरजातिको लोपोन्मुख रोदीको झलक, रोटेपिङ, मगरजातिको खानाको परिकार पनि महोत्सवका आकर्षणका रुपमा रहेको आयोजकले जनाएको छ ।
ऋषिङमा रानीपोखरी, गढीदरबार, कोटदरबारजस्ता ऐतिहासिकस्थल रहेका छन् भने अजम्बरी माई, दुर्गा भवानी, ज्यामिरे माई, कल्याणदेवी, गड्गेश्वर महादेव मन्दिर र दुबुङ भ्यूटावरलगायतका थुप्रै धार्मिक तथा पर्यटकीयस्थल छन् । महोत्सवले यी स्थलको पनि प्रचारप्रसार हुने विश्वास गरिएको छ ।
महोत्सवको उद्घाटन गर्दै तत्कालीन संविधानसभा सदस्य झुलबहादुर आलेले ऋषिङ सांस्कृतिक महोत्सवले ऋषिङको पहिचान स्थापित गर्न सहयोग पुग्ने जनाउँदै स्थानीय वस्तुलाई प्राथमिकता दिनुपर्ने बताए । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले धार्मिक तथा ऐतिहासिक स्थल रहेको ऋषिङको विकासका लागि योजना बनाएर अगाडि बढेको उल्लेख गरे ।

किरियापुत्री भवन सञ्चालनमा ल्याइने

शहरिया साँघुरो र घना बसाइ व्यवस्थायुक्त रहनसहनमा काजकिरिया कर्म पारम्पारिक ढङ्गले सम्पन्न गर्न कठिनाइ भएको महसुस गरी तनहुँको व्यास नगरपालिका–३ मा किरियापुत्री भवन निर्माण गरियो । नागरिकस्तरबाट समिति गठन गरी शुरु भएको भवन निर्माण कार्यमा देश तथा विदेशबाट सहयोग भयो ।
किरियापुत्री भवन निर्माणका लागि देश तथा विदेशबाट राम्रो रकम सङ्कलन भएको र व्यास नगरपालिकाले पनि आर्थिक सहयोग गरेपछि भवन निर्माण सम्पन्न भएको तत्कालीन भवन निर्माण समितिका संयोजक उपेन्द्र लम्सालले बताए । लम्सालका अनुसार ९८ लाखमा भवन निर्माण गरिएको थियो । उक्त भवन निर्माणका लागि व्यास नगरपालिकाले ३६ लाख ७६ हजार ७९७, व्यास नगरपालिका–३ वडा कार्यालयले दुई लाख ६० हजार सहयोग गरेको थियो ।
“दमौलीमा एउटा किरियापुत्री भवनको आवश्यकता महसुस भएको थियो, सोहीबमोजिम स्थानीयवासीसँग छलफल ग¥यौ र काम अगाडि बढायौँ,” उनले भने, “उक्त भवन गतवर्ष व्यास नगरपालिकालाई हस्तान्तरण गरेका थियौँ ।” गत चैतमा कोरोना सङ्क्रमण शुरु भएपछि नगरपालिकाले उक्त भवनलाई आइसोलेसन कक्ष बनाएको थियो । किरियापुत्रीका लागि भनेर निर्माण गरिएको उक्त भवन सोही प्रयोजनका लागि सञ्चालनमा आउन सकेको छैन । “जुन उद्देश्यका साथ भवन निर्माण भएको थियो, सोहीबमोजिम सञ्चालन भएको छैन,” लम्सालले भने । दुई हजार ९०० वर्गफिट क्षेत्रफलमा फैलिएको भवनमा कुरुवा बस्ने कक्षबाहेक आठ कोठा छ ।
व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त भवन अब नागरिकस्तरबाटै सञ्चालन हुने भएको छ । नगरपालिकाले किरियापुत्री भवन सञ्चालनसम्बन्धी कार्यविधि २०७७ खारेज गरी उक्त भवन सञ्चालन गर्न नागरिकस्तरबाटै समिति बनाउने निर्णय गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। व्यास वडा नं। २, ३ र ४ का वडाध्यक्षहरुको परामर्शमा सात जनाको समिति गठन गर्ने गरी लम्साललाई नै संयोजनको जिम्मेवारी दिइएको छ ।