अन्तर्राष्ट्रिय

मे सम्म सबै वयस्कहरुलाई खोप लगाइने बाइडेनको विश्वास

एजेन्सी २९ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने व्यवस्था मिलाइएको बताए ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो टेलिभिजन सम्बोधनमार्फत उनले त्यसका लागि आवश्यक कार्य गर्न राज्यहरुलाई निर्देशन पनि दिएका छन् । खोप लगाउनका लागि सरकारले प्राथमिकता निर्धारण गरेकाले प्राथमिकताका आधारमा आफ्नो पालो आउदाँ खोप लगाउन पनि उनले सबैलाई आग्रह गरेका छन् ।

कोरोनाभाइरसको महामारीका कारण एक वर्षमा ठूलो क्षति भएको चर्चा गर्दै उनले अब भने राम्रा दिनहरू आएको बताए ।

जुलाई ४ मा मनाइने अमेरिकी स्वतन्त्र दिवसको अवसरमा त्यस बेला यस वर्ष भने साना साना कार्यक्रम गर्न सकिने अपेक्षा गरिएको उनको भनाइ छ । राष्ट्रपति बाइडेनले यसअघि १९ खर्ब डलरको कोभिड राहत प्याकेजमार्फत अमेरिकाको मेरुदण्ड पुनःनिर्माण हुनेतर्फ पहिलो पाइला चालिएको घोषणा गरेका थिए ।