बाग्मती

सत्यतथ्यका आधारमा समाचार लेख्न प्रेरणा

४ चैत, काठानडौ । सञ्चारकर्मीले सत्यतथ्यको आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने अनुभूति गरेका छन् । यो अनुभूति नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित सातदिने पत्रकारिता तालीममा सहभागीले प्रशिक्षण लिएपछि भएको हो ।

विभिन्न सञ्चारगृहमा काम गर्ने नवप्रवेशी पत्रकारलाई दिइएको तालीमले प्रशिक्षार्थीको सीप र दक्षतामा निखार आएको प्रशिक्र्षीको अनुभव छ । देशको ऐनाको रुपमा काम गर्ने सञ्चारकर्मी सत्यतथ्यबाट डराउन नहुने र निर्धक्क भएर समाचार लेख्न सकियो भने सञ्चारगृहलाई मात्र नभएर देशलाई टेवा पुग्ने प्रमुख प्रशिक्षक महासङ्घका पूर्व सभापति धर्मेन्द्र झाले बताए ।

उनले भने, “पेशाले पत्रकार लोभलालचमा फस्नु हुँदैन, यसले स्वयं पत्रकारको पेशामा अवरोध सिर्जना गर्दछ । सूचनाको हक, आचारसंहिता, विकास पत्रकारिता, प्रेस कानूनको विषयमा केन्द्रित रहेको तालीममा युरोपियन युनियनले पनि सहजीकरण गरेको थियो ।

हतारमा लेखिएको साहित्य पत्रकारिता हो, यसमा लाग्ने युवायुवती न्यूनतम आधारभूत आवश्यकता भने पूरा गरेको हुनपर्छ अर्की प्रशिक्षक सङ्घर्ष पन्तले भने, “सीप विनाको जनशक्तिले सफलता हासिल गर्न सक्दैनन् ।” खासगरी दक्ष जनशक्ति निर्माण गर्न र यो पेशाप्रति पत्रकारको रुचि बढाउन तालीमले निकै ठूलो मद्दत गरेको सहभागी प्रियङ्का कामतले बताए । अर्का सहभागी मकालु खबरका पत्रकार सुजाता लिम्बूले तालीमले हामीलाई धरै हदसम्म दीक्षित गरेको बताए ।

‘विकासका लागि सञ्चार, सञ्चारका लागि सञ्चारकर्मी’ मूल उद्देश्य राखिएको तालीमले नवप्रवेशी पत्रकारलाई जोस, जाँगर एवं उत्साह थपेको छ । तालीममा मोरङ, सुनसरी, झापा, धनकुटा, सप्तरी, उदयपुर र सिराह गरी ३० महिलासहित ४२ जनाकोे सहभागिता रहेको थियो ।