शिक्षा

क्याम्पस भवन बनेन अझै

५ चैत, बिरगंज । छ वर्षमा पनि ठाकुरराम बहुमुखी क्याम्पसको निर्माणाधीन दुई तल्ले बिबिए सङ्कायको भवन सम्पन्न भएको छैन । वीरगञ्ज महानगरपालिका– १३ मा रहेको मोना कन्ट्रक्सन निर्माण कम्पनीले बिबिए सङ्कायतर्फका भवन निर्माणका लागि ठेक्का सम्झौता गरेर हालसम्म पनि सम्पन्न गर्न सकेको छैन ।

विसं २०७१ वैशाख २२ गतेदेखि १० महीना म्याद राखेर २०७१ फागुन २० गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको उक्त कम्पनीले छ वर्षमा पनि पूर्णरुपमा सम्पन्न गर्न नसकेको सामान्य प्रशासन तथा स्टोर शाखाले जनाएको छ । सम्झौताअनुसार समयमा भवन निर्माण हुन नसकेपछि ठेकेदार र क्याम्पस प्रशासनबीचको बैठकले तीन पटक म्याद थप गरेर २०७३ फागुन २१ गतेसम्ममा काम सकाउने निर्णय भए पनि ठेकेदार कम्पनी सम्र्पकविहीन भएको स्टोर शाखा प्रमुख गीता श्रेष्ठले बताए ।

उनका अनुसार रु एक करोड ४९ लाखमा ठेक्का सम्झौता गरेको उक्त कम्पनीले हालसम्म ८० प्रतिशत काम मात्र सम्पन्न गरेको छ । श्रेष्ठका अनुसार ठेक्का पाएको कम्पनी करीब रु ४९ लाख भुक्तानी लिएर केही समयदेखि सम्पर्कमा नआएको र भवन पनि समयमा सम्पन्न गरेको छैन ।

“बीस पटकभन्दा बढी ठेकेदार कम्पनीलाई भवन सम्पन्न गर्नका लागि पत्राचार गरेका छौँ”, श्रेष्ठले भने, “तर ठेक्कादार कम्पनीले पत्र बुझेर केही वास्ता नगरेको र जवाफ पनि नदिएको अवस्था छ ।” क्याम्पसमा बिबिए सङ्कायमा भर्ना हुनु अगाडिदेखि भवन निर्माणकार्यको थालनी भए पनि अहिलेसम्म सम्पन्न हुन नसकेकाले सो सङ्कायतर्फ समस्या सिर्जना भएको बताइएको छ ।