शिक्षा

त्रिभुवन विद्यालयमा पुनः पठनपाठन शुरु

६ चैत, लमजुङ । चट्याङ लागेर एक विद्यार्थीको मृत्यु र दुई घाइते भएपछि बुधबारदेखि बन्द गरिएको यहाँका एक विद्यालयमा आजदेखि पुनः पठनपाठन शुरु भएको छ । लमजुङ क्व्होलासोथर गाउँपालिका¬–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पठनपाठन शुरु भएको हो ।

विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गुरुङले भने, “विद्यालयमै रहेको अवस्थामा चट्याङ लागेर विद्यार्थीको मृत्यु र केही घाइते भएपछि बुधबार गाउँपालिका शिक्षा शाखाप्रमुख र विद्यालयका शिक्षकलगायतको बैठक बसेर बुधबार र बिहीबार बन्द गरिएको हो ।” आजदेखि विद्यालय पुनः सञ्चालनमा आए पनि विगतका जसरी विद्यार्थीहरु भने उपस्थित नभएको उनको भनाइ छ ।

उनले भने, “केही विद्यार्थी अझै डराएकाले पनि नआएको हुन सक्छन् तर हामीले सबै विद्यार्थीलाई नडराउन र विद्यालय आउनलाई अनुरोध गरिरहेका छौँ ।” उक्त घटनाले विद्यालय नै दुःखी भएको र विद्यालयका तर्फबाट मृतकका परिवार र घाइतेका लागि केही सहयोग गर्ने तयारी भइरहेको पनि उनले बताए । विद्यालयमा विद्यार्थी रहेकै बेला मङ्गलबार दिउँसो चट्याङ पर्दा तीन विद्यार्थी गम्भीर घाइते भएका थिए । घाइतेलाई हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि पुर्याइए पनि कक्षा १० मा अध्ययनरत १७ वर्षीय विनोद विकको मृत्यु भएको थियो ।

गम्भीर घाइते छवीन्द्र गुरुङ र अंशु गुरुङको अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्थामा सुधार भइरहेको विद्यालयका प्रधानाध्यापक गुरुङको भनाइ छ ।

विसं २०५२ मा स्थापना भएको विद्यालयमा हाल २६६ विद्यार्थी रहेको विद्यालयले जनाएको छ । चट्याङले विद्यालयको वाइफाइ र बिजुलीको तारमा समेत क्षति पुर्याएको छ ।

मृतक परिवारलाई रु दुई लाख सहयोग

मृतक विनोद विकको परिवारलाई जिल्ला प्रशासन कार्यलय लमजुङले राहतस्वरूप दुई लाख आर्थिक सहयोग गरेको छ । मृतकको घरमा पुगेर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मृतकका बुबा टीकाराम विकलाई उक्त रकम हस्तान्तरण गरे ।

प्रजिअ शर्माले यस्ता विपद्का घटनाबाट मृत्यु भएका परिवारलाई चोटका बेला केही राहत पुग्ने अपेक्षाले सहयोग गरिएको बताए । यसरी विपद्बाट मृत्यु भएका परिवारलाई रु दुई लाख दिन पाउने प्रावधानअनुरुप नै सङ्घीय सरकारका तर्फबाट जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले सहयोग गरेको उनको भनाइ छ ।