समाचार

गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन

१६ चेत, काठमाडौं । थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिको विभिन्न १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको जानकारी दिए ।

उनका अनुसार वार्ता टोलीका अन्य सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहेका छन् । मन्त्री गुरुङले सबै प्रकारका हिंसात्मक गतिविधि अन्त्य गरेर शान्तिपूर्ण मुलुक तथा ‘समृद्धि नेपाल र सुखी नेपाली’ बनाउने अभियानलाई सरकारले अगाडि बढाएको उल्लेख गर्दै उक्त वार्ता टोलीले आजैदेखि काम शुरु गर्ने जानकारी दिए ।

उनले राजनीतिक अवरोध भए पनि सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको बताउँदै राष्ट्रिय गौरवका आयोजनालाई सम्पन्न गर्ने अभिप्रायका साथ सरकारले काम गरिरहेको उल्लेख गरे।

थरुहट आन्दोलनले रेशम चौधरीको रिहाइलगायत विभिन्न १९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ । केही दिनअघि गृहमन्त्री थापा माइतीघर मण्डलामा पुगेर सरकारले वार्तामार्फत नै थरुहट आन्दोलनकारीको माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।