अन्तर्राष्ट्रिय

आक्रमणमा परी सुडानमा १४ को मृत्यु, ७ घाइते

१७ चैत्र, एजेन्सी । सुडानमा भएको घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् ।

देशको पूर्वी क्वाटोरिया राज्यमा पर्ने बुडी काउन्टीमा घटना भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार आइतबार दिउसो १ बजेतिर घटना भएकोसञ्चार सचिव अलियन्ड्रो लोटोकले बताएका छन् । आक्रमणकारीहरू को हुन् भन्ने बारेमा अहिलेसम्म केही पहिचान हुन नसकेको पनि उनले जानकारी दिएका छन् ।

मानिसहरू सुतिरहेका बेलामा आक्रमण भएको प्रारम्भिक अध्ययनबाट देखिएको अधिकारीहरूको भनाइ छ ।

घटनामा परी मृत्यु भएकामध्ये १२ जना महिला र दुई जना बालबालिका रहेका छन् । स्थानीय अधिकारीहरूले समेत आक्रमण के कारणले भएको थियो भन्ने बारेमा एकीन हुन नसकेको बताएका छन् ।

घटनाका बारेमा अनुसन्धान भइरहेको र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता पनि सरकारी अधिकारीहरूले जनाएका छन् । उनीहरूले घटनाको घोर निन्दा समेत गरेका छन् ।