१२ असार, काठमाडौं । चिनियाँ समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले शुक्रबार बेइजिङमा ‘सिन्ह्वा युडियन’ नाम दिइएको एआईबाट चल्ने ‘न्युजबोट’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
यो ‘न्युजबोट’ ले सिन्ह्वाको आफ्नै स्वामित्वको तथ्याङ्क र अत्याधुनिक प्रविधिको प्रयोग गरी उच्च विश्वसनीय एआईबाट सञ्चालित सामग्री उपलब्ध गराउनेछ । यसले प्रयोगकर्ताहरूलाई अध्ययन, अनुसन्धान र लेखन कार्यमा सहयोग पु¥याउने बताइएको छ ।
यो परियोजना कृत्रिम बौद्धिकताको युगलाई अँगाल्ने सिन्ह्वाको सक्रिय प्रयास हो,” न्यूजबोटको औपचारिक सार्वजनिक गर्ने कार्यक्रममा सिन्ह्वाका अध्यक्ष फु हुआले भने ।
“‘सिन्ह्वा युडियन’ केवल एक ज्ञान बाँड्ने उपकरण मात्र होइन, यो एउटा यस्तो प्लेटफर्म पनि हो जसलाई सिन्ह्वाले प्रयोगकर्ताहरूसँग मिलेर निरन्तर नमूना प्रशिक्षण र अनुकूलन मार्फत विकास गर्न चाहन्छ । यसमा राजनीतिक सिद्धान्त, मुख्यधाराको मूल्य, उन्नत संस्कृति र आधिकारिक जानकारीमा विशेष जोड दिइएको छ,” अध्यक्ष फुले भने ।
यो न्युजबोटमा एआई च्याट, सदस्यता तथा सूचनाहरू, ज्ञान कार्यस्थल र एआई सहायक क्षेत्रजस्ता चार मुख्य कार्यात्मक इकाईहरू छन् । यसले सिद्धान्त अध्ययन, स्रोत सङ्कलन, समाचार सिफारिस गर्ने, समाचारबारे प्रश्नोत्तर, सूचना प्रमाणीकरण, मुद्दा विश्लेषण र लेख तयार पार्ने गरी प्रमुख सात कार्यहरू गर्ने बताइएको छ ।




