अन्तर्राष्ट्रिय

इजिप्टका पूर्वप्रधानमन्त्री गान्जौरीको निधन

१९ चैत्र, एजेन्सी । इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन भएको छ । दुई पटक मुलुकको प्रधानमन्त्री हुनुभएका गान्जौरीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

लामो समयदेखि बिरामी भएर उपचार गराइरहनु भएका गान्जौरीको एयर फोर्स हस्पीटलमा निधन भएको हो । उनको निधनप्रति राष्ट्रपति अब्दुल फताह अल सिसिले गहिरो दुःख व्यक्त गरेका छन् । आफ्नो देश र जनताप्रति अति प्रतिबद्ध नेताको रूपमा उनले पूर्वप्रधानमन्त्री गान्जौरीलाई स्मरण गरेका छन् ।

“उनमा स्पष्ट दृष्टीकोण थियो, उनि सफल नेता हुन् भने उनमा नेतृत्व गर्ने विषेश क्षमता पनि थियो,” राष्ट्रपति सिसिले शोक वक्तव्यमा उल्लेख गरेका छन् ।

उनले इजिप्टको राजनीतिक तथा आर्थिक क्षेत्रमा ठूलो योगदान गरेको पनि राष्ट्रपति सिसिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

गान्जौरीले सन् १९९६ देखि १९९९ सम्म तत्कालीन राष्ट्रपति होस्नी मुवारकअन्तर्गत रहेर प्रधानमन्त्रीका रूपमा काम गरेका थिए । दोस्रो पटक भने सन् २०११ मा उनि प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१३ मा उनलाई राष्ट्रपतिको आर्थिक मामिला सल्लाहकारमा नियुक्त गरिएको थियो ।