कर्णाली प्रदेश

बुद्धका उपदेश ग्रहणले राष्ट्रिय एकतामा बल पुग्छ : प्रदेश प्रमुख

कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको उपदेश ग्रहणले मात्र राष्ट्रिय एकतामा बल पुग्ने बताएका छन् । आज ‘२५६५औँ बुद्धजयन्ती–२०७८’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले बौद्ध धर्मावलम्बी एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् । सन्देशमार्फत उनले भनेका छन्, “अहिंसा, त्याग र शान्तिका प्रतीक बुद्धका उपदेशलाई विश्वले ग्रहण गरिरहेको छ । बुद्धभूमि नेपाल र नेपालीले उहाँको मार्गदर्शनलाई आत्मसात गर्न सकेमात्र राष्ट्रिय एकता र मुलुकको समृद्धिमा सहयोग पुग्दछ । बुद्धजयन्तीले यही प्ररणा देओस् ।”

नेपालका राष्ट्रिय विभूति, विश्व शान्तिका अग्रदूत तथा बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध (सिद्धार्थ गौतम) को जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति सबै आजकै दिन अर्थात् वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले त्रिसंयोगको दिवस भएको यसले सबै नेपालीमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्दै सामाजिक एकता अझै बलियो बनाउन प्रेरणा प्रदान गर्ने अपेक्षा गरेको उनले बताएका छन् ।