समाचार

कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च

कञ्चनपुर । बेलौरी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चवापत १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगर प्रवक्ता विनोद नेपालीले बताए । “कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनुभएका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय गरिएको छ”, उले भने , “केही दिनभित्रै खर्च दिन शुरु गर्छौँ ।” कोरोनाका कारण नगरपालिकाका १४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । पाँच सय बढी व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

नगरपालिकाले कुण्डास्थित कोभिड अस्पतालमा उपचारपछि घर फर्किने बासिन्दालाई पनि पोषिलो खाना पनि उपलब्ध गराउने भएको छ । त्यसका लागि दुई हजार बराबरको पोषणयुक्त खानाका सामान उपलब्ध गराउने कार्यपालिकाबाट निर्णय गरिएको छ । कोभिड सङ्क्रमित बालबालिकाको उपचारका लागि भवन बनाउने निर्णय पनि गरिएको छ । बेलौरीमा दुई बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । दुवै जना १५ र १६ वर्षका छन् । बालबालिकामा कोरोना सङ्क्रमण फैलिने सक्ने सम्भावनालाई मध्यनजर गरी भवन बनाउन लागिएको हो । त्यस्तै नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि सहयोग गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकबाट रक्त सञ्चार केन्द्रका लागि रु ५० हजार सहयोग गर्ने निर्णय गरिएको छ ।

सङ्क्रमण घट्दै

कञ्चनपुरमा कोरोनाको सङ्क्रमण घट्न थालेको छ । निषेधाज्ञाको प्रभावका कारण कोरोनाको सङ्क्रमण घटेको हो । सङ्क्रमित हुने बिरामीको सङ्ख्याभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ । मृत्यु हुने क्रममा समेत निकै कमी आएको छ । बिहीबार सङ्क्रमितको सङ्ख्या २३ रहेकामा निको भई घर फर्कनेको सङ्ख्या ५४ रहेको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा सक्रिय सङ्क्रमित ४८७ रहेका छन् । आइसोलेशनमा ११२ र होमआइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ३७५ रहेको छ । हालसम्म पोजेटिभको सङ्ख्या सात हजार ४६६ रहेकामा निको भई घर फर्केकाको सङ्ख्या छ हजार ७८६ रहेको छ ।

हालसम्म २२ हजार ९९ जनाको पिसिआर परीक्षण गरिएकामा जसमध्ये २२ हजार ३६ जनाको नतिजा प्राप्त भएको छ । पश्चिमी सीमानाका गड्डाचौकीमा एन्टिजेन परीक्षण नौ हजार ७०१ जनाको गरिएकामा जसमध्ये ५४९ जनाको नतिजा पोजेटिभ आएको छ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वैशाखयता मात्रै पाँच हजार ९३ जनाको पिसिआर परीक्षण गरिएकामा जसमध्ये चार हजार ८५३ जनाको नतिजा प्राप्त भएको छ । प्राप्त नतिजामा तीन हजार ३५८ सङ्क्रमित देखिएका छन् । सोही अवधिमा निको हुनेको सङ्ख्या तीन हजार ४१ रहेको छ । वैशाखयता १४ हजार ४२८ जनाको एन्टिजेन परीक्षण गरिएकामा जसमध्ये दुई हजार १६५ जनाको नतिजा पोजेटिभ आएको छ ।