समाचार

दार्चुला-तिंकर सडक : सर्वेक्षण सम्पन्न

दार्चुला । दार्चुला–तिंकर सडकअन्तर्गत नेपाली सेनालाई दिइएको ८७ किलोमिटर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेक्षणको काम सकिएको छ । व्याँस गाउँपालिका–२ को कोठेधारदेखि नेपाल–चीन सीमा स्तम्भसम्मको डिपिआरका लागि सर्वेक्षणको काम सकिएको हो । नेपाली सेनाले प्यारागन ग्रिड नेपाल जेभी नामक परामर्शदातामार्फत डिपिआर निर्माण गर्न लागेको हो । परामर्शदाता कम्पनीले ३५ दिन लगाएर कोठेधारबाट तिंकर भञ्ज्याङसम्मको स्थलगत सर्भेक्षण, अवलोकनको तथा सर्भेक्षणको काम सकिएको परामर्शदाता कम्पनीका इञ्जीनियर सुशील देवकोटाले जानकारी दिए ।

“व्याँसको कोठेधारबाट छाङ्गरुसम्म भारतको जस्तै महाकाली नदी किनारैकिनार भएर सर्भेक्षण गरिएको छ”, देवकोटाले भने, “कहीँ भारतको भन्दा थोरै माथि होला । सर्भेक्षणका क्रममा सडकलाई महाकाली नदी किनारैकिनार भएर तिंकरसम्म पु¥याउने प्रयास गरिएको छ ।” सर्भेक्षणको क्रममा १८ जनाको टोली सहभागी थियो । भौगोलिकरूपमा विकट र पहाड तथा जङ्गलको बाटोमा सामग्री ढुवानीमा समस्या हुँदा सर्भेक्षणको काममा बढी समय लागेको इञ्जीनियर देवकोटाको भनाइ छ । “चालु आर्थिक वर्षमा डिपिआर निर्माण गरेर नेपाली सेनालाई बुझाउँछौँ”, उनले भने, “फिल्ड प्रतिवेदन सकिएकाले अबको दुई महिनाभित्र डिपिआर निर्माण सकिन्छ ।”

सरकारले दु्रतगतिमा रणनीतिक महत्व बोकेको दार्चुला–तिंकर सडकलाई सेनामार्फत काम गराउने निर्णयपछि सेनाले अहिले व्याँस गाउँपालिकाको सुनसेरा र दुम्लिङमा निर्माण कार्यदलको क्याम्प राखेको छ । “सुनसेरामा क्याम्प निर्माण सकिएको छ”, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले भने, “दुम्लिङमा क्याम्प निर्माणको काम अन्तिम चरण पुगेको छ ।” डिपिआर प्राप्त भएपछि आगामी आवबाट यो सडकको निर्माण शुरु हुने पौडेलले बताउनुभयो । “हामीले जिम्मेवारी लिइसकेपछि समयमै निर्माण सक्ने गरी काम गर्छौँ । सोहीअनुसार अहिले क्याम्प राख्ने काम भइरहेको छ”, उनले भने ।