शिक्षा

सार्वजनिक पुस्तकालयको सबलीकरणमा जोड

१५ भदौ, काठमाडौं । ‘सबल समाजको आधार सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने आदर्श वाक्यसहित आज चौधौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ ।
कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा मनाइएको दिवसका अवसरमा विभिन्न क्षेत्रका सार्वजनिक पुस्तकालयलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गोर्खा भूकम्प र विभिन्न कारणले क्षतिग्रस्त तथा कोभिड–१९ का कारण प्रभावित पुस्तकालयको संरक्षण र पुस्तकको डिजिटलाइजेशन गर्ने चुनौती रहेको बताए ।
विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले चिताइ तहबिल नामक पुस्तकालय स्थापनाका लागि लालमोहर लगाएको दिनको सम्झनामा विसं २०६५ देखि यो दिवस मनाउन थालिएको हो । पुस्तकालयका माध्यमबाट ऐतिहासिक दस्तावेजहरुको संरक्षण, सम्वद्र्धन र उचित प्रयोग गर्ने ध्येयले सो हनुमानढोका दरबारभित्र उक्त तहबिलको स्थापना गरिएको थियो । दिवसकै अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस्तकालयको विषयसँग सम्बन्धित लेख, रचना समेटेर विशेषाङ्कको प्रकाशन गरेको छ ।