पर्यटन/संस्कृति

कालिका मन्दिर र रङ्ग महल पुनर्निर्माण

गोरखा, १६ कात्तिक । भूकम्पले क्षति पुर्याएको ६ वर्षपछि बल्ल गोरखाको ऐतिहासिक तथा प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर र रङ्ग महल पुनर्निर्माण गर्न थालिएको छ । विसं २०७२ वैशाख १२ गतेका भूकम्पले क्षति पुर्याएको कालिका मन्दिर र रङ्ग महल रेक्टोफिटिङ गरी मर्मत गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसाले जानकारी दिएका छन् ।

“ठेकेदारसँग सम्झौता भएर कालिका मन्दिरमा ट्रष्ट छाउने काम पनि लगभग सकिएको छ”, उनले भने, “मन्दिरको माथिल्लो तला पूरै भत्काउने काम अब अघि बढ्छ ।” प्रमुख भुसालले भूकम्पले क्षति पुर्याएको मन्दिर र रङ्ग महल यसअघि पूरै भत्काएर पुरानै संरचनामा निर्माण गर्ने भनिए पनि पछि रेक्टोफिटिङ गरेर नै पुरानै अवस्थामा फर्काउन सकिने भएपछि राष्ट्रिय पुरातत्व विभागले रेक्टोफिटिङका लागि ठेक्का लगाएको बताएका छन् ।

मन्दिर र रङ्ग महल निर्माणका लागि करिब रू एक करोड ९५ लाख ६५ हजारमा धर्म÷एसआरआर जेभीसँग ठेक्का सम्झौता भएको उनले जानकारी दिएका छन् । “आउँदो असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको हो”, प्रमुख भुसालले भने, “रेक्टोफिटिङ गरी मर्मत गरिने भएपछि छिटो निर्माण हुन्छ ।”

“भूकम्पले दरबारको माथिल्लो तला भत्काउनै पर्ने भए पनि अरू संरचनामा त्यति ठूलो क्षति नपुगेको हुँदा रेक्टोफिटिङ गरी मर्मत गर्न लागिएको हो । कालिका मन्दिरको शीतल पाटीभन्दा अगाडीको भाग थोरै दबिएको छ”, उनले भने, मन्दिरमा बोका बलि दिने गरिएको ठाउँमा खासै क्षति पुगेको छैन, सबै पुनर्निर्माण गर्दा ढिलो र अफ्ठ्यारो होला भन्ने लागेर अगाडिको भागलाई नभत्काउने गरी रेक्टोफिटिङ गर्न लागिएको हो ।”

जहाँ जहाँ भूकम्पका कारण संरचना दबिएको छ ती ठाउँमा जगैसम्म नै भत्काएर मर्मत गरिने प्रमुख भुसालले बताए । अहिले क्षति पु¥याएका संरचना भत्काउने र ट्रस्ट राख्ने काम मात्र भइरहेकाले अन्य काम सुरु गर्न बाँकी रहेको छ । भूकम्प गएको लामो समयसम्म पनि मन्दिरसँग जोडिएर रहेको गोरखा दरबार पुनर्निर्माणको काममा ढिलाइ भएकाले कालिका मन्दिर र रङ्ग महल निर्माणमा पनि ढिलाइ भएको प्रमुख भुसालले जानकारी बताएका छन् ।

“मूल दरबार तोकिएको समयमा निर्माण भएको भए कालिका मन्दिर र रङ महल पुनर्निर्माणका काम भइसक्थ्यो”, उनले भने, “दरबारमा भएका पुरातात्विक वस्तुहरु तथा अन्य सामानहरु मन्दिर र रङ महलमा थन्क्याउनुपर्ने बाध्यता भएकाले एकै पटक भत्काएर बनाउन समेत समस्या भयो ।” दरबार र मन्दिर एकै पटक भत्काएर पुनःर्निर्माण थाल्दा मन्दिरमा पूजा व्यवस्थापन गर्न समस्या हुने भएकाले पनि पालैपालो पुनर्निर्माण गर्दा मन्दिर निर्माणमा ढिलाइ भएको थियोे । कालिका मन्दिर र रङ्ग महल निर्माण भने तोकिएको समयमै निर्माण हुने अपेक्षा गरिएको छ ।