पर्यटन/संस्कृति

छठ पर्वको रौनक

२४ कात्तिक, वाग्मती। हेटौंडाको राप्ती खोलामा छठपर्व मनाउन घाट सिँगारिएकाले यहाँ बेग्ले रौनक छाएको छ ।

हेटौँडाउपमहानगरपालिका–१ स्थित राप्ती खोलाको घाटलाई केराको बोट र ध्वजा पताकासहित रङ्गीचङ्गी विद्युतीय बल्भले सजाइएको छ । हाल त्यहाँ पूजा सामग्री ल्याउनुका साथै चहलपहल पनि बढेको छ ।

छठपर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछन् । कातिक शूक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुनेछ । अहिले मकवानपुुरको हेटौँलगायत सहरी र ग्रामीण क्षेत्रमा तराई र पहाडी मूलका नागरिक छठपर्व मनाइरहेका छन् । तराई–मधेशका नागरिकसँगै पहाडी मूलका नागरिकले पनि यो पर्व मनाउन थालेको बताइएको छ ।

पहिला तराईको सीमित क्षेत्रमा मनाउँदै आएको यो पर्व अहिले राष्ट्रिय रुपमा नै मनाउन थालिएको छ । सरकारले यस पर्वका लागि आज सार्वजनिक बिदासमेत दिएको छ । यस्तै आज हेटौंडाको कर्रा खोलालगायत नहर तथा पोखरीमा यो पर्व मनाइदैछ ।