समाचार

अध्यक्ष नेपालको निर्देशनः साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी नखानु

२७ कार्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई रक्सी नखान निर्देशन दिएका छन् । आज काठमाडौँमा पार्टी निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रक्सी खान नजानू भन्दै निर्देशन दिएका हुन् ।

अध्यक्ष नेपालले खानैका लागि पाँच तारे होटल नधाउन र खान पाएकै आधारमा राक्षसलाई देउता नबनाउन समेत अह्राएका छन् । रक्सी खाएको थाहा पाएमा आफूले राम्रो नमान्ने चेतवनी समेत उनले दिएका छन् । रक्सीले स्वास्थ्य बिगार्ने, आयु घटाउने र रोग निम्त्याउने भन्दै रक्सी पिउने गरेकाहरुले पनि छोड्नुपर्ने उनको आग्रह थियो ।

पत्रकारहरुलाई कुनै पनि आर्थिक प्रलोभनमा नपर्न समेत उनले सुझाव दिए । साथै पार्टीका नेताहरुलाई समेत रक्सी नखान भनेका छन् । साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना आफूले पाएको भन्दै उनले त्यसो नगर्न आग्रह गरे ।