२७ कार्तिक, काठमाडौं । नेपाली कांग्रेस डडेल्धुरा सभापतिले वडा र पालीका अधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै आक्रोसित भएका छन् ।
डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले आफुहरुको बहिष्कारकाबीच भएको अधिवेशनलाई आयोगले मान्यता दिएको भन्दै मंसिर १ देखी सानेपामै अनसन बस्ने चेतावनी दिएका छन् । आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले आफुहरुको माग सुनुवाई नभएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शृरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच भएको वडा र पालिका अधिवेशनलाई निर्वाचन समितिले वैधता दिएपछि उनले यस्तो चेतावनी दिएका हुन् ।
सभापति मल्लले केन्द्रीय निर्वाचन समितिको भूमिकामाथि प्रश्न उठाउँदै केन्द्रीय सभापति शेरबहादुर देउवाको निर्देशनमा समितिले काम गरिरहेको आरोप समेत लगाएका छन् । मल्लले डडेल्धुरामा आफूहरुको बहिस्कारकाबीच भएको अधिवेशनलाई समितिले वैधता दिन नसक्ने दावी समेत गरेका छन् ।
डडेल्धुरामा एकपक्षीय रुपमा अधिवेशन भएको भन्दै सभापति मल्ल पक्षले फेरि अधिवेशन हुनुपर्ने माग गर्दै आएको छ । तर निर्वाचन समितिले भने डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिँदै महाधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।





