पर्यटन/संस्कृति

ईन्धनको मुल्यबृद्धि संगै बढ्यो हवाई भाडा: कहाँको लागि कति ?

२८ कार्तिक, काठमाडौं । हवाई भाडामा बृद्धि भएको छ । सरकारले हवाई ईन्धनको मुल्य बृद्धि गरेपछि वायुसेवा संञ्चालकले पनि हवाई टिकटमा जोड्ने ईन्धनबापतको मुल्य बढाएका छन् । हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ ।

अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आजैबाटबाट यो भाडादर कायम भएको छ ।

परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा २२० रुपैयाँ बढेको छ । काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ ।

पोखरा–विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्ने भएको छ भने काठमाडौंबाट जुम्ला उडानमा १७० रुपैयाँ भाडा बढी पर्नेछ । साथै काठमाडौंबाट सुर्खेत १७५, काठमाडौंबाट नेपालगन्ज १६०, काठमाडौंबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको वायुसेवा संचालक संघले जनाएको छ ।