समाचार

‘शारदादेवी\ढुण्डीराज भट्टराई-नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

१ मंसिर, काठमाडौं । क्रियाशील आर्थिक पत्रकारको साझा संस्था नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले रु एक लाख राशिको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको छ । बैंकिङ तथा बीमा विज्ञका रुपमा रहनुभएका रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले सो पुरस्कार घोषणा गरेको हो । भट्टराई हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सिईओ० का रुपमा कार्यरत छन् ।

उनले आफ्ना मातापिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेको जनाउँदै पुरस्कारका लागि आवश्यकपर्ने स्रोत अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने बताएका छन् । नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी÷ढुण्डीराज भट्टराई–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्ने जनाएको छ ।

सम्झौताअनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि रु दश लाखको चेक हस्तान्तरण गरेका छन् । सोही रकमको ब्याजबापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाइ छनोट गरी पुरस्कृत गरिने नाफिजले जनाएको छ । “मेरा बुबा र आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर यो काम गरेको हुँ, यसले आर्थिक पत्रकारितामा संलग्नको लेखनवृत्तिका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु”, हस्ताक्षर कार्यक्रममा उनले भने ।

उनले नेपालमा आर्थिक पत्रकारिताको बलियो जग बसाउनु आवश्यक रहेको र त्यसका लागि सम्मान तथा पुरस्कारको सङ्ख्या तथा गुणस्तर दुवै बढाउनुपर्नेमा जोड दिएका छन् । नाफिज अध्यक्ष मोदनाथ ढकालले रु एक लाख राशिको ठूलो आर्थिक पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको र यसले नाफिज आवद्ध पत्रकारलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने बताएका छन् ।

“यो पुरस्कार मात्रै होइन, आर्थिक पत्रकारितामा अब्बलता देखाउने प्रेरणा पनि हो, यसले थप गतिशील, अनुशासित र तथ्यपरक आर्थिक पत्रकारिताका लागि प्रेरणा दिने नाफिजले अपेक्षा गरेको छ”, उनले भने । पुरस्कारसम्बन्धी सम्झौता पत्रमा आज नाफिज अध्यक्ष ढकाल र दाता भट्टराईले हस्ताक्षर गरेका हुन् ।