राजनीति

महामन्त्रीमा मेरो उम्मेदवारी कुर्सीमा बस्नका लागि मात्रै होईनः गगन थापा

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आगामी १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले कांग्रेस चुहिएको प्वाल टाल्ने पार्टी भएको बताएका छन् । नेपाली कांग्रेसको शुक्रबारबाट सुरु हुने महाधिवेशनका क्रममा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै थापाले कांग्रेस चुहिएको प्वाल टाल्ने पार्टी रहेको बताएका हुन् ।

नेता थापाले कांग्रेसको राजनीति गर्ने व्यक्तिहरुले ‘म’को बारेमा नभई ‘हामी’को बारेमा सोचेको बताएका छन् । साथै उनले कुर्सीमा बस्नमात्रै नभई परिवर्तनका लागि आफुले महामन्त्रीका लागि उमेदवारी दिएको समेत बताएका छन् । उनले नेपाली कांग्रेसलाई नयाँ संकल्प, नयाँ कार्यक्रम र नयाँ उत्साह चाहिएको भन्दै कांग्रेसले जनतालाई भरोसा दिनुपर्ने बताएका छन् ।

आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै थापाले नेपालीको अबको बाटो ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुनुपर्ने बताए । साथै थापाले कांग्रेसको चाहना नहुँदा नहुँदै आफूहरु सरकारमा जान परेको बताएका छन् । उनले यसअघि नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्दै गर्दा आफूहरु पाँच वर्षका लागि प्रतिपक्षमा बस्न तयार भएको स्मरण गरेका छन् ।